इन्जेक्सनकाे विकल्पमा ट्याबलेट काेभिड खाेप, वैज्ञानिकले सुरू गरे अनुसन्धान

एजेन्सी । इन्जेक्सनकाे प्रयाेग हुँदै आएको काेराेना भाइरसविरुद्धको खोपमा अब ट्याबलेट समेत पाइने भएकाे छ । इन्जेक्सन लगाउन डराउनेहरूका लागि खाेपमा इन्जेक्सनकाे सट्टा ट्याबलेट उपलब्ध गराउनेबारे वैज्ञानिकहरूले अनुसन्धान सुरू गरेका छन् । अक्सफाेर्ड विश्विवद्यालयका वैज्ञानिकहरूले ‘इन्जेक्सन फ्रि’ खाेपबारे अनुसन्धान सुरू गरेका हुन् ।

बेलायती सञ्चार माध्यम डेली मेलका अनुसार अक्सफोर्ड-एस्ट्राजेनेका खोपको प्रमुख विकासकर्ता सारा गिल्बर्टले आफ्नो टोलीसँगै इन्जेक्सनमुक्त खाेपबारे काम सुरू गरेकी हुन् । साे वैज्ञानिक टाेलीले खाेपमा इन्जेक्सनकाे विकल्पमा नाकमा हाल्ने (नेजल स्प्रे) वा ट्याबलेटबारे खाेज गर्दैछ ।

यसले खाेपकाे भण्डारणका लागि तापक्रम व्यवस्थापनकाे झन्झट पनि हट्ने विश्वास लिइएकाे छ । प्रोफेसर गिल्बर्टले ट्याब्लेट वा नाक स्प्रेले फोक्सो, घाँटी र नाकको प्रतिरक्षा कोशिकामा राम्रो काम गर्ने बताएकी छिन् । प्राेफेसर गिल्बर्टले हाउस अफ कमन्स साइन्स एण्ड टेक्नाेलाेजी कमिटीसँग भनेकी छिन्- ‘कयाैँ यस्ता फ्लु भ्याक्सिनहरू छन् जुन नेजल स्प्रेमार्फत् दिइन्छ, काेराेना भ्याक्सिन पनि यसैगरी बनाउनु भनेकाे राम्राे कुरा हाे । माैखिक खाेपबारे पनि छलफल भइरहेकाे छ । जसलाई इन्जेक्सनसँग डर लाग्छ, उनीहरू ट्याबलेटमार्फत् खाेप लिन सक्नेछन् ।’

यद्यपी सुरक्षा र प्रभावकारिताबारे परीक्षण गर्न बाँकी रहेकाे हुँदा ट्याबलेट खाेप बन्न भने केही समय लाग्न सक्ने प्राेफेसर गिल्बर्टकाे भनाइ छ । उनका अनुसार इन्जेक्सनकाे तुलनामा नेजल स्प्रे र ट्याबलेटबाट मिल्ने प्रतिरक्षा प्रतिक्रिया फरक हुन सक्छ तर यसकाे फाइदा धेरै हुनेछ । भविष्यमा भ्याक्सिन दिने अन्य विकल्पबारे पनि खाेजी गरिनेछ ।

गत महिना, एक बेलायती बायोटेक कम्पनीले गरेको एउटा परीक्षणमा बाँदरलाई दिइएकाे काेराेना भाइरसकाे माैखिक भ्याक्सिन धेरै प्रभावकारी पाइएकाे थियाे । क्यालिफोर्नियाकाे कम्पनी इम्युनिटीबायोले बेलायतमा यसकाे परीक्षणका लागि नियामक स्वकृति मागेकाे छ ।

अमेरिकाका मानिसमा जनवरीदेखि ट्याबलेटकाे क्लिनिकल परीक्षण सुरू गरिसकिएकाे छ । यस्तै बेलायतका मानिसमा नेजल स्प्रेकाे परीक्षण सुरू गरिएकाे छ । पशु अध्ययनमा सकारात्मक सुरक्षा डाटा प्राप्त भएपश्चात् यूके मेडिसिन्स एण्ड हेल्थकेयर प्राेडक्ट्स रेगुलेटरी एजेन्सीले परीक्षणका लागि स्वीकृति दिएकाे थियाे ।

प्रतिक्रिया