पाइपलाइन निर्माणको नेतृत्वपछि थानकोट डिपो सुधार गर्दै यादव

काठमाडौं । प्रदीपकुमार यादव नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय प्रमुखका रुपमा सरुवा भएको ११ महिना पुग्यो ।

नेपाल-भारत पेट्रोलियम पाइपलाइन निर्माणको कामको स्थलगत कामको नेतृत्व गरेका यादवले त्यो काम सम्पन्न गरेपछि यो जिम्मेवारी पाएका हुन् ।

थानकोट डिपोमा आएको १ वर्ष पूरा हुनै लाग्दा उनले डिपो सुधारका क्षेत्रमा पनि धेरै काम सम्पन्न गरिसकेका छन् ।

पाइपलाइन परियोजना सम्झिँदै यादवले भने, ‘पाइपलाइनको परियोजना पूरा गर्न निकै चुनौतिपूर्ण थियो । त्यो सफलतापूर्वक सकियो । यस्तो परियोजनामा काम गर्न पाउनु एउटा अवसर र गौरवको कुरा पनि हो, जुन मैले पाएँ ।’

देशकै सबैभन्दा ठूलो र भारतबाट हुने आयात व्यवस्थापनमात्रै नभएर आन्तरिक आपूर्ति व्यवस्थापनमा पनि निकै चाप हुने अमलेखगञ्ज डिपोको प्रमुख हुन निकै चुनौतीपूर्ण मानिन्छ । आपूर्ति व्यवस्थापनमा अलिकति मात्रै समस्या आउँदा पनि देशभर अभाव हुनसक्ने भएकाले यो संवेदनशील पनि छ ।

त्यसमाथि पाइपलाइन निर्माणमा समय दिनुपर्दाको चाप धेरै नै भएपनि आफूले यो एक दुर्लभ अवसर हो भन्ने हिसाबमा काम गरेकाले सफल भएको यादव बताउँछन् ।

थानकोट डिपोमा सुधार के के भयो त ?
निगमले यादवलाई २०७६ को चैत ७ गते थानकोट डिपोको प्रमुख बनाएर पठाएको हो । जतिबेला डिपोमा इन्धनको लोड अनलोड भइरहेपनि व्यवस्थापन राम्रो थिएन ।

मुख्य सडकबाट डिपोमा छिर्ने सडकभरी ट्यांकरको अव्यवस्थित पार्किङ, डिपोमा जाने बाटो धुलाम्य, लोड अनलोडको भद्रगोल व्यवस्थापनले डिपोभित्र मात्र होइन आसपासका बासिन्दामा पनि डिपोप्रति राम्रो धारणा थिएन ।

यादव भन्छन्, ‘अति प्रज्वलनशील पदार्थ भएकाले पेट्रोल डिजेलको ढुवानी दिउँसोमात्रै गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । त्यसैले सकेसम्म दिउँसो ३ बजेभित्रै ट्यांकर छुट्यो भने मात्र ५ बजेभित्रै पम्पमा तेल पुग्छ । तर, त्यतिबेला ६ बजेसम्म पनि ट्यांकर छुट्ने नसक्ने अवस्था थियो । त्यसो हुँदा पम्पमा गएर तेल भर्दा रात पर्थ्यो ।’

डिपोको आन्तरिक सुरक्षाको समस्या पनि थियो । दैनिक करिब ६ सय किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेलको सप्लाई हुने त्यो डिपोलाई सामान्य तारबारले मात्र घेरिएको थियो ।

डिपोमा तेल लिन जानेलाई बैंकमा पैसा तिर्ने, भौचर बुझाउनेलगायतका काम गर्न दिनभर लाइन बस्नुपर्ने अवस्था थियो । कार्यालयका कर्मचारीको कार्यकक्ष समेत व्यवस्थित थिएन । ट्यांकर चालक र कर्मचारीका लागि राम्रो ट्वाइलेट र बाथरुम समेत नभएको यादवले बताए ।

आफू डिपोमा आएको दोस्रो दिनदेखि नै सुधारको कामलाई अघि बढाएको उनको दाबी छ । अहिले धेरैजसो समस्या समाधान भइसकेका र भइरहेका केही काम सकिनेबित्तिकै डिपोको सुधारको पहिलो चरणको काम पूरा हुने उनले बताए ।

सबैभन्दा ठूलो समस्या रहेको पार्किङ व्यवस्थित भइसकेको छ । निगमको स्वामित्वमा डिपोकै छेउमा रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर ३ सय ट्यांकर अट्न सक्ने पार्किङ बनाइएको छ । पार्किङसँगै व्यवस्थित ट्वाइलेट बाथरुम बनाइएको छ ।

ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्या दोब्बर पुर्‍याइएको डिपो प्रमुख यादवले बताए । अहिले बिहान १० बजेदेखि लोडिङ सुरु गरी दिउँसो साढे २ देखि ३ बजेसम्म सकिइसक्ने पनि उनले दाबी गरे । जसका कारण ५ बजेसम्म सम्बन्धित पम्पसम्म पुगेर तेल खन्याइसक्ने अवस्था हुने उनको दाबी छ । भूकम्पपछि क्षतिग्रस्त रहेको एउटा भर्टिकल ट्यांकीको मर्मत पनि गरिएको छ ।

यस्तै डिपोलाई घेर्ने पर्खाल ३ सय ७० मिटर लम्बाई र ११ फिट अग्लो पक्की पर्खाल बनाइएको छ । डिपोको सुरक्षामा खटिने सेनाको आवासका लागि पनि निगमले छुट्टै क्वार्टर बनाउदैछ ।

गेटदेखि मूल सडकसम्मको बाटोलाई निगमले आफ्नै खर्चमा कालोपत्रे गरेको छ । डिपोको गेटनजिक रहेको सार्वजनिक बाटो र निगमको जग्गामा रहेको बाटोलाई एउटै बनाएर विस्तार गरिएको छ । यसमा निगमले आफ्नै खर्च गरेको छ ।

कार्यालयभित्रको आन्तरिक अवस्था सुधारमा पनि यो अवधिमा निकै प्रगति भएको डिपो प्रमुख यादवले दाबी गरे । संरचना अभावकै कारण डिपोका अफिसरहरु एउटै कोठामा कोचिएर बस्नुपर्ने अवस्था रहेकोमा अहिले सबैका लागि सहज रुपमा काम गर्नेगरी संरचना बनाइएको छ । सेवाग्राहीले लाइन बस्न नपरोस् भनेर क्यू मेसिन राख्ने, खाली ठाउँमा दुबो र रुख रोप्ने लगायत काम भएको छ ।

कति भयो खर्च ?
यी सबै कामका लागि करिब ७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको र विस्तृत खर्च विवरण सबै काम गरिसकेपछि आउने यादवले जानकारी दिए ।

आफ्नै साधन र स्रोतको प्रयोग गरेकाले कम खर्चमा धेरै काम गर्न सकिएको उनले बताए ।

२०५५ सालमा निर्माण भएको यो डिपो २०५७ सालदेखि सञ्चालनमा आएको हो । थानकोट डिपोमा रहेका ९ वटा भर्टिकल ट्यांकी र ५ वटा अन्डरग्राउन्ड ट्यांकीमा अहिले १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ ।

थानकोट डिपोबाट अहिले दैनिक ३ हजार किलोलिटर तेल वितरण हुने गरेको छ ।

यी सबै सुधारका काम गर्न निगमको नेतृत्वले पनि उत्तिकै साथ दिएको यादवको भनाइ छ । ‘बजेट त पहिले पनि थियो तर काम चाहिँ भइरहेको थिएन । म आउने बित्तिकै खरिद प्रक्रिया सुरु गरेँ । काम अघि बढेपछि चालु आर्थिक वर्षमा बजेट पनि बढेर आयो । अरु प्राविधिक कामका लागि पनि नेतृत्वबाट निरन्तर सहयोग पाइयो । सबैको सहयोगले नै यो सम्भव भएको हो‚’ यादवले भने ।

काम गर्ने इच्छा शक्ति हुने हो भने गर्न सकिने धेरै काम रहेको उनको अनुभव छ । पाइपलाइनको काममा धेरै नै खटिएर काम गरेकाले तुलनात्मक रुपमा कम काम हुने ठानेर निगम व्यवस्थापनले आफूलाई केही आराम पनि हुने थानकोट डिपोमा पठाएको तर त्यहाँ अझ गर्नुपर्ने काम धेरै नै बाँकी देखेपछि आफू केही नगरि बस्नै नसकेको उनले बताए । बजेट पनि छ‚ गर्नुपर्ने काम पनि छ भनेपछि कसरी चुप बस्ने ? डिपो प्रमुख यादवको प्रश्न छ ।

प्रतिक्रिया