माफी नमागे पलको चलचित्र रोक्ने चेतावनी

काठमाडौँ । चलचित्र निर्देशक अरुण प्रधानले अभिनेता पल साह अभिनित चलचित्रको प्रदर्शन रोक्ने चेतावनी दिएका छन् ।

अभिनेता साहले आफूमाथि हातपात गरेको भन्दै माफी नमागेसम्म उनी अभिनित चलचित्र प्रदर्शन हुन नदिने चेतावनी दिएका हुन् ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्षसमेत रहेका उनले प्रदेश एकमा पलको चलचित्र बहिस्कार गर्ने बताएका हुन् ।

अभिनेता पल शाहलाई निर्देशक अरुण प्रधानलाई कुटपिट गरेको आरोप लागेको थियो । फागुन १० गतेको घटनालाई लिएर पीडित भनिएका प्रधान हिजो (बिहीबार) प्रहरी चौकी पुगेर दिउसो करिब २ बजे उजुरी दिएका थिए ।

प्रधानले विज्ञप्ति जारी गर्दै पल र उनका म्यानेजर कृष्णप्रसाद जोशीले लिखित माफी नमागेमा चलचित्र प्रदर्शन नै रोक्ने चेतावनी दिएका हुन् । पलले भने आफूमाथि नै दुर्व्यवहार भएको बताउँदै आएका छन् ।

के भएको थियो ?

अरुणले आयोजना गरेको कार्यक्रममा पलको उपस्थितिको विषयमा उनले फेसबुकमा पोस्ट राखेका रहेछन् । पलसँग अनुमति नै नलिई सामाजिक सञ्जालमा पोस्ट गरेकाले असन्तुष्ट हुँदै उनले म्यानेजरसँग सल्लाह गर्न भने । तर प्रधानले दिएको उजुरीमा भने फेसबुक पोस्ट हटाउँछु भन्दा उल्टो पलको तर्फबाट नै आक्रमण भएको उल्लेख गरिएको छ ।

म्युजिक भिडियो छायाङ्कनका लागि पल शाह धरानमा थिए । उनको भिडियोको छायाङ्कन सकेर होटेल ज्वाइँ खानामा रहेको समय पलका म्यानेजर कृष्णप्रसाद जोशीले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ ।

पलको अनुमतिमा नै आक्रमण गरिएको उनको जिकीर छ । पलले अन्य ८-१० जना युवा समेत बोलाएको भन्दै आएका प्रधानले भिडियोको काममा आफूले सहयोग गरेको बदलामा आक्रमण सहनु परेकोले उजुरी दिनुपरेको बताएका छन् ।

यता पल शाहले भने आफूमाथि नै दुर्व्यवहार भएको बताएका छन् । भिडियो छायाङ्कनका लागि धरान पुगेका पललाई प्रधानले आफ्नो अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आग्रह गरेका थिए । पलले यस विषयमा आफ्ना म्यानेजर कृष्णसँग कुराकानी गर्नुस् भन्दा प्रधानले औला ठड्याउँदै ‘यो भाइ ठुलो भएछ’ भनेको बताउँछन् ।

‘कामको लागि आएको, काम सकियो अन्य कार्यक्रममा सहभागी हुनु/नहुनु व्यक्तिगत निर्णय हो,’ पल भन्छन् ।

यही विषयमा विवाद बढ्यो । पलको टिम हाेटलमा बसिरहेकाे टेबुल छोडेर अर्कोमा जाने क्रममा पलका म्यानेजर कृष्णसँग भने प्रधानको धकेलाधकेल भएकाे पल पक्षकाे दाबी छ। होटेलका वेटरले धरानमा रहेका पलका केही साथीहरूलाई कल गरेर बोलाएको पलको दाबी छ । साथीहरू आएपछि पलको समूह होटेल छोडेर बाहिरिएकाे उनले बताए ।

प्रतिक्रिया