प्रहरी चौकीसम्म तानिएको पल-प्रधान विवाद के हाे ?

काठमाडौँ । कलाकार पल शाहले निर्देशक अरुण कुमार प्रधानलाई ‘कुटे’ भन्ने खबर बिहीबार साँझ फैलियो । त्यसलगत्तै पलले आफूमाथि नै दुर्व्यवहार भएको अभिव्यक्ति दिए ।

तर आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासङ्घ प्रदेश-१ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा बिहीबार साँझ नै उजुरी दिए । उजुरी परेसँगै पललाई इलाका प्रहरी कार्यालय धरानले शुक्रवार उपस्थित हुन भनेको छ ।

म्युजिक भिडियो छायाङ्कनका लागि पल शाह धरानमा थिए । उनको भिडियोको छायाङ्कन समेत बिहीबार नै सकिएको हो । होटेल ज्वाइँ खानामा रहेको समय पलका म्यानेजर कृष्णप्रसाद जोशीले आक्रमण गरेको प्रधानको आरोप छ ।

पलको अनुमतिमा नै आक्रमण गरिएको उनको जिकिर छ । अन्य ८-१० जना युवा समेत पलले बोलाएको भन्ने प्रधानले भिडियोको काममा आफूले सहयोग गरेको बदलामा आक्रमण सहनु परेकोले उजुरी दिनुपरेको बताएका छन् ।

यता पल शाहले भने आफूमाथि नै दुर्व्यवहार भएको बताएका छन् । भिडियो छायाङ्कनका लागि धरान पुगेका पललाई प्रधानले आफ्नो अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आग्रह गरेका थिए । पलले यस विषयमा आफ्ना म्यानेजर कृष्णसँग कुराकानी गर्नुस् भन्दा प्रधानले औला ठड्याउँदै ‘यो भाइ ठुलो भएछ’ भनेको बताउँछन् । ‘कामको लागि आएको, काम सकियो अन्य कार्यक्रममा सहभागी हुनु/नहुनु व्यक्तिगत निर्णय हो,’ पल भन्छन् ।

यही विषयमा विवाद बढ्यो । पलको टिम हाेटलमा बसिरहेकाे टेबुल छोडेर अर्कोमा जाने क्रममा पलका म्यानेजर कृष्णसँग भने प्रधानको धकेलाधकेल भएकाे पल पक्षकाे दाबी छ। होटेलका वेटरले धरानमा रहेका पलका केही साथीहरूलाई कल गरेर बोलाएको पलको दाबी छ । साथीहरू आएपछि पलको समूह होटेल छोडेर बाहिरिएकाे उनले बताए ।

विवादको चुरो
अरुणले आयोजना गरेको कार्यक्रममा पलको उपस्थितिको विषयमा उनले फेसबुकमा पोस्ट राखेका रहेछन् । पलसँग अनुमति नै नलिई सामाजिक सञ्जालमा पोस्ट गरेको कारण असन्तुष्ट हुँदै उनले म्यानेजरसँग सल्लाह गर्न भने । तर प्रधानले दिएको उजुरीमा भने फेसबुक पोस्ट हटाउँछु भन्दा उल्टो पलको तर्फबाट नै आक्रमण भएको उल्लेख छ  ।

उजुरीको आधारमा आज पललाई इलाका प्रहरी कार्यालय बोलाइएको छ । बाकी विवरण त्यसपश्चात् मात्र आउने छ ।

प्रतिक्रिया