‘बिबिसी सो’का चर्चित मास्टर सेफ साह भन्छन्- नेपाली खाना विश्वभर पस्किँदैछु

नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र संघर्षले सफलताको शिखरमा पुर्‍याउने थोरैमात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए । पाककलाका बादशाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो, उनको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा । आज उनी विश्वको नजरमा पर्न सफल भए, उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेले ।

‘नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहनत चाहिन्छ । विश्वबजार घुमेर नेपाली खानाको प्रवर्द्धन गर्ने योजना बनाएको छु,’ बेलायतको चर्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक बिहीबार नेपाल आएका सेफ साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भने ।

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाए । बेलायतमा छिट्टै रेस्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेस्टुरेन्ट खोल्ने योजना बनाएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताए । उनी भन्छन्, ‘मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म ‘प्लाष्टिकको झोला बेच्थेँ र पाउरोटी बेच्थेँ त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।’

‘नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हुँदैन । खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ,’ उनले अगाडि भने, ‘हाम्रो ‘फुड इन हाइजिन’ छैन,’ चिसो खाना नखानू र बोतलबिनाको पानी नपिउनू भन्ने हाम्रो सन्देश हो । चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ । मेरा जति साथी छन् तिनलाई तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ । विदेशीका लागि यो गुणस्तर कायम गर्नैपर्छ ।’

एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन । देशभित्र भान्से र खानाका लागि मान्यतै छैन । यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागी सङ्घर्षको यात्रा सुरु गरिएको साहले बताए । उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानको लागि केही गरौँ भनेर मनैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए । ‘अब नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ ।’

अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउनेगरी नेपाल प्रवर्द्धनमा जुट्ने साहको भनाइ छ । साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दैछन् । चर्चित पेन्गुइन पब्लिकेसनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान सुरु गरिने उनले जानकारी दिए । भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ । खाना सबैले बनाउछन् तर गुणस्तरीय खानामा ध्यान दिनुपर्छ । सरसफाइ र स्वच्छतालाई अभियानकै रुपमा अघि बढे सफलतामा पुग्नसक्छ भन्ने उनको वाणी छ ।

नेपालमा के गर्दैछन् साह?

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आएका साह करिब एक महिना नेपालमा रहनेछन् । उनी पाटाको ४४औँ वार्षिक साधारणसभाको प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । उनी नेपाल पर्यटन बोर्डलगायत संस्थाले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् । साह पाँच दिन होटल क्वारेन्टिन बसाइपछि पर्यटकीय गतिविधिमा सक्रीय हुने बताइएको छ । काठमाडौँ पार्क भिलेज र टर्किज एयरवेजको सहकार्यमा पाटा नेपालको अग्रसरतामा साह नेपाल आएका हुन् ।

नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधामध्ये पाकवान महत्वपूर्ण पाटो बन्न सक्ने भन्ने सन्देश दिनसक्नु नै पनि उनको नेपाल आगमनको उपलब्धि हुने पाटाका कोषाध्यक्ष खेम लकाईँले बताए । नेपालका चर्चित सेफ गोविन्दनरसिंह केसीले नेपालको ४० वर्षे सेफ इतिहासमा नेपाल र नेपालको परिकारलाई विश्वभर चिनाउन सफल भएकामा खुशी व्यक्त गरे । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले सेफ साहको नेपाल आगमनले कोभिडबाट थलिएको मुलुकको पर्यटनलाई प्रवर्द्धनका साथै नेपाल गन्तव्यलाई खानाको माध्यमबाट विश्वभर पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसरी विश्वभर कहलिए साह

बेलायतको चर्चित प्रसारण सेवा बिबिसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स २०२०’ मा साह उपविजेता बनेका थिए । संसारभरका विभिन्न कुजिनका झण्डै तीन दर्जन सेफले भाग लिएको उक्त प्रतिस्पर्धाको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा साह पनि थिए । ग्र्यान्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका साह दोस्रो बने । उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशंसा बटुलेका थिए ।

साहको यो सफलतालाई संसारभरका सञ्चारमाध्यमले स्थान दिए । नेपालको पहिचानलाई विश्वभर फैलाउन र पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण सहयोग पुगेको छ । अन्तिम प्रतिस्पर्धामा सेफ साहले हड्डीवाला भैँसीको मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएका थिए । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए ।

बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशविदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन् । नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवर्द्धनमा निरन्तर जुटिरहने जानकारी दिए ।

विमानस्थलमा भव्य स्वागत

‘मास्टर सेफ युके’मा उपविजेता ‘फर्स्ट रनरअप’ भएका साह बिहीबार नेपाल आएका छन् । मध्याह्न काठमाडौँ ओर्लिएका साहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनलाई नेपालका सेफ तथा पर्यटन व्यवसायीले स्वागत गरेका थिए । नेपालमा लामो समयदेखि काम गरेका ‘लेजेन्ड’ सेफ तथा युवा सेफको उपस्थितिले माहौल निकै भावुक बनेको थियो ।

को हुन् उनी?

नेपालको सिरहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्छन् । सात दाजुभाइ दिदीबहिनीमध्ये उनी सबैभन्दा कान्छो सदस्य हुन् । सानै उमेरमा बुबाको साथ गुमाएका साहले १० वर्षको उमेरदेखि काम गर्न थाले । स्थानीय बजारमा प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ ।

नेपालमा कक्षा १० सम्म पढेका साहले एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात पुगे । उनले अहमदावादको एक रेस्टुरेन्टमा भाडा माँझ्ने काम शुरु गरे । एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव  संगाल्दै गए । कामकै सिलसिलामा पकाउन सिके र अङ्ग्रेजी भाषाको ज्ञान पनि लिँदै गए । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै एक पाँचतारे होटलको सेफसमेत बने साह ।

सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गरेका थिए । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीको सहयोगले सन्तोषलाई बेलायतमा रहेर काम गर्ने अवसर मिल्यो । उनी सन् २०१० मा बेलायत गए र एक रेस्टुरेन्टमा काम गर्न थाले । साहले बेलायतकै ललित होटल र बनारसमा समेत काम गरेका छन् ।

प्रतिक्रिया