चिनियाँ विद्युतीय कारको बिक्री दर टेस्लाको भन्दा बढी

चीनद्वारा निर्मित ४५०० अमेरिकी डलर मूल्य पर्ने बजेट इलेक्ट्रिक कार (इभी)ले आफ्नो सवारी बिक्री टेस्लाको अपमार्केटभन्दा ज्यादा गरिरहेको छ ।

उक्त कारको बिक्रीले चीनकै सबैभन्दा ठूलो कार कम्पनी एसएआइसी मोटरलाई ठूलो धक्का दिएको छ ।

द होङ गुवाङ मीनी इभीले अहिले अमेरिकी कार कम्पनी जायन्ट जनरल मोटर्स (जिएम)सँगको समन्वयमा यो विद्युतीय कार निर्माण गरिरहेको छ।

गत महिना यो कारको बिक्री टेस्लाको तुलनामा करिब दोब्बर भएको कम्पनीले बताएको छ।

हाल ४५ सय अमेरिकी डलर पर्ने होङ गुवाङ मिनी सबैभन्दा चर्चित मोडलका रुपमा देखिएको छ। कम्पनीद्वारा निर्माण गरिएको अर्को एयर कन्डिसन भएको कारको मूल्य ५००० अमेरिकी डलर रहेको छ ।

कार विज्ञहरू समेत ब्याट्री‚ रेन्ज र पर्फर्मेन्सको सन्दर्भमा यो कार टेस्लाको तुलनामा धेरै उपयोगी रहेको बताउँछन् । यसको सुविधा र कम मूल्यले गर्दा छिटो समयमा चीनमा धेरै बिक्री हुने कारमा परेको विज्ञहरूले बताएका छन् । यस कारमा ४ जनासम्म बस्न मिल्ने कम्पनीले जनाएको छ ।

‘चिनियाँ सरकार प्रदूषण नियन्त्रण‚ विद्युतीय सवारीको निर्माण र विस्तारको विषयलाई लिएर गम्भीर छ ।’ चीनको मार्केट रिसर्च ग्रुपका प्रबन्ध निर्देशक साउन रेइनले बिबिसीसँग भने ।

विद्युतीय सवारीलाई बढावा दिनका लागि चिनियाँ सरकारले त्यस्ता सवारीमा लाग्ने लाइसेन्स प्लेट सित्तैमा उपलब्ध गराउने भएको छ । जबकी चीनका धेरै शहरहरूमा अझै पनि पेट्रोलबाट चल्ने कारका लागि लाइसेन्स प्लेट लिन महिनौँ लाग्ने गर्छ। धेरै प्रक्रिया पुरा गरेपछि मात्र लाइसेन्स प्लेटका लागि स्वीकृति पाइने गरिन्छ ।

द होङ गुवाङ मीनी इभीले सन् २०२० को उत्तरार्धका ६ महिनामा १ लाख १२ हजार कार बिक्री गर्दै विश्वमै सर्वाधिक बिक्री हुने कारमध्येमा दोस्रो स्थानमा आफूलाई राख्न सफल भएको छ ।

अमेरिकापछि टेस्लाको सबैभन्दा ठूलो बजार चीनमै भएकाले टेस्ला कारको सुविधा र सुरक्षाको विषयमा छलफल गर्न पाँच चिनियाँ नियामक संस्थाले टेस्लाको टिमलाई चीनमा बोलाएका थिए ।

गत जनवरीमा होङ गुवाङ मिनीले टेस्लाको तुलनामा ज्यादा कार बिक्री गरेपछि यो विद्युतीय कार सर्वाधिक रुचाइएको विद्युतीय सवारीको सूचीमा दोस्रो स्थानमा आफूलाई समेट्न सफल भयो। पहिलो नम्बरमा भने अझै पनि टेस्लाको मोडल ३ नै रहेको छ।

चाइना प्यासेन्जर कार एसोसियसन (सिपिसिए)का अनुसार चीनमा गत जनवरीमा मात्रै यसका २५ हजार ७७८ मोडल बिक्री भएका छन् भने टेस्लाको मोडल ३ का १३ हजार ८४३ मोडलमात्र बिक्री भएका छन् ।

द होङ गुवाङ मिनी इभीले आफूद्वारा निर्मित सवारीहरू विश्वबजारमा समेत लाने तयारी गरेको कम्पनीले बताएको छ ।

‘चीनमा यस्ता साना र सस्ता विद्युतीय कार निर्माण कम्पनी थुप्रै छन्‚ तर तीमध्ये धेरै कम्पनीका कारमा कम सुविधा र थोरै स्पीड हुने भएकाले तिनीहरूको बजार त्यति ठूलो छैन ।’ अटो फरकास्ट सोलुसनका साम फियोरानीले भने ।

प्रतिक्रिया