जुकर्वर्ग क्याफेमा शेखरसँग भएको भर्चुअल भेट

  • दिक्षा कट्टेल

काठमाडाैं । सामाजिक सञ्जालमा देखिएको एउटा प्रोफाइलले आँखा तान्यो । लामो दारी, कपाल, नाकमा नाथिया । झट्ट हेर्दा दक्षिण भारतीय चलचित्रका अभिनेता झैँ लाग्थ्यो त्यो अनुहार । नाममा आँखा गयो । थोरै झड्का लाग्यो, नाम त नेपाली छ !

‘पिपुल यु मे नो’ मा टक्क अडिएका आँखा उनको प्रोफाइल भित्रैसम्म तानिए । आँखासँगै दिमाग पनि खिचिँदै थियो उनको प्रोफाइलभित्र । सँगसँगै चल्दै थियो चोरी औंला माउसमा, रफ्तारसँग । केही तल पुगेर चोरी औंला थामियो, केही क्षण । मनले भनिरहेकाे थियाे- ‘नक्कली कपाल र दारी हालेर चाहीँ कलाकार नदेखियोस् ।’

अहिले सजिलो छ । भौतिक दुरी जति नै होस् माध्यमले यति नजिक बनायो कि निमेष भरमै जोडिन सकियो । मित्रता आव्हान गरेर केही क्षण पर्खिए । कलाकार भन्नासाथ औंला चलेपनि मन केही अन्कनाउँछ सामाजिक सञ्जालमा जोडिनुअघि । अस्वीकार धेरै भोगेर होला । तर यो पटक त्यस्तो भएन । मनले पनि साथ दियो ।

स्क्रिनको कुनामा एउटा सन्देश देखियो – ‘शेखर सुवेदीले तिम्रो मित्रता स्वीकार गरे ।’ माउस छोडेर औंलाहरू किबोर्डमा दौडिन थाले । नमस्कारबाट सुरु भएको वार्तालाप केही पर्‍यो भने सम्पर्क गर्छु है मा पुगेर टुङ्गियो ।

चलचित्र अर्जुन रेड्डीको नेपाली भर्सन बन्ने चर्चा छ । यसैको लागि कलाकार छान्न अडिसन हुँदैछ । मुख्य कलाकार समेत अडिसन मार्फत् छान्ने टिमले प्रयास थालेको छ । यसअघि आएका केही नामलाई बेवास्ता गर्दै अडिसन आव्हान गरिएको हो ।

मैले करिब १० मिनेट कुरा गरेका सुवेदीको अनुहार अर्जुन रेड्डी र कबिर सिंहसँग मिल्दो छ । उनलाई हेर्दा ‘ल यी हुन सक्छन् नेपाली अर्जुन रेड्डी’ भन्ने चाहीँ लाग्छ नै । उनले पनि यो चलचित्रको मुख्य भूमिकाका लागि आवेदन दिइसकेका छन् ।

के बन्ला त अर्जुन रेड्डी ? जवाफमा उनी भन्छन्- ‘आफ्नो तर्फबाट पुरा दिने हो । बाँकी त टिमले कसरी छान्नुहुन्छ त्यसमा भर पर्छ ।’ उनलाई अडिसनको खासै भरोसा भने लाग्ने रहेन छ । पटक-पटक अडिसन भनेर सर्ट लिस्ट बनाउने तर अडिसन नै नलिएकाे उनीसँग तीताे अनुभव छ । एक पटक यसरी नै उनले एक चलचित्रका लागि फर्म भरेका थिए । छोटो लिस्टमा पनि परे । तर न अडिसन भयो न त नयाँ कलाकारले मौका पाए । पहिला प्रचारको लागि नयाँ कलाकार नै लिने भन्ने टिमले उनीहरू निकट व्यक्तिलाई लियो, जसले अडिसनका लागि फारम समेत भरेका थिएनन् ।

उनले बाहिरबाट सुनेअनुसार विशाल सापकोटा राम्रा निर्देशक हुन् रे । त्यसैले उनी अडिसन निष्पक्ष हुनेमा आशावादी छन् ।
काठमाडाैंका स्थानीयवासी सुवेदीले २ वर्ष एम थिएटरमा अध्ययन गरेका छन् ।

उनले डिप्लोमा इन एक्टिङ्ग अध्ययन गरेका हुन् । २३ वर्षको उमेरबाट मोडलिङ क्षेत्रमा लागेका सुवेदी म्युजिक भिडियो र चलचित्रमा जोडिएको समेत ४वर्ष भइसकेको छ । यस बिचमा उनले चलचित्र निर्भय, बाजागाजा लगायतमा काम गरे भने उनी अभिनीत चलचित्र भाँडाकुटी प्रदर्शन हुन बाँकी छ ।

‘चरित्र अनुसारको अभिनय गर्न सक्नुपर्छ । त्यसलाई आफ्नो बाहिरी आवरणले समेत साथ दियो भने त अझ गज्जब’- उनले लामो दारी र कपालको विषयमा जवाफ दिए । ‘यसकाे मतलब मेकओभर गर्नै हुँदैन भन्न खोजेको होइन । निर्माताले कलाकारको अभिनयमा पनि जोड दिनुपर्छ भन्ने मेराे आशय हो ।’

उनले चलचित्रका लागि आवेदन फाराम भरिसकेका छन् । अवसर पाए भने उनकाे अभिनय देखिएला । तर छानिएनन् नै भने पनि उनको अभिनयको यात्रा रोकिँदैन । संघर्ष गरेरै भएपनि आफू निरन्तर यही क्षेत्रमा सक्रिय रहने उनको भनाइ छ ।

प्रतिक्रिया