डाक्टर बन्न पठाएको छोरो नौटङ्की गर्न थाल्यो !

काठमाडौँ । जमिनदारका कान्छो छोरो सरोज खनालको जन्म २०२० सालको फागुन १२ गते भएको हो । चितवनमा जन्मिएका उनी घरको कान्छो सन्तान भएका कारण जिद्दी स्वभावका थिए । खुला शौचको चलन रहेको समयमा उनले एक दिन लोटा बोकेका एक व्यक्तिलाई पछाडिबाट धकेलिदिए । लडेर उक्त व्यक्तिको अगाडीको दाँत नै भाँचिएको उनी सम्झिन्छन् ।

उनमा चलचित्र प्रतिको पागलपन बिछट्टै थियो । चितवनका उनी आफ्नो घरका ड्राइभरलाई थर्काएर सोले चलचित्र हेर्न भारत पुगेका थिए । बद्री अधिकारीको काम मन पराउने खनालले साथी खेम शर्माको सहयोगमा बद्रीलाई भेटे । पहिलो भेटमा नै उनलाई बद्रीले कामको लागि अफर गरे । अभिनय गर्ने कुनै सोच थिएन तर पनि उनले स्वीकारे । डा. ध्रुव चन्द्र गौतमको लेखन रहेको बद्रीकै निर्देशनमा बनेको नाटक ‘भस्मसुरको नली हाड’ मा उनले अभिनय गर्ने अवसर पाए । चिया ल्याउने र फर्किने दुई सिन गरेका उनमा अभिनयको मोह जाग्दै गयो ।

डाक्टर बन्न पठाएको छोरो नौटङ्की गर्न थालेको थियो । परिवार रुष्ट थिए । बाबु नै रिसाएपछि उनको खर्च पानी बन्द भयो । काठमाडौँ  बसेको एक युवा जसको अरू कुनै कमाउने बाटो थिएन । घरबाट खर्च आउन छोड्यो । तर उनी आत्तिएनन् । ट्युसन पढाएर गुजारा गर्न थाले । डनलपमा सुत्ने उनी सुकुलमा पुगे । तर हिम्मत हारेनन् ।

टेलिचलचित्र ‘मौन आकाश’ तयार गरेका थिए उनले । नेपाल टेलिभिजनमा प्रसारणको लागि दिए पनि । तर प्रसारण भएन । मिठो संयोग, केही नलागेपछि उनी पुनः रङ्गमञ्च फर्किए । गोविन्द मल्ल गोठालेको नाटक ‘च्यातिएको पर्दा’ मा मुख्य भूमिकामा देखिए उनी । वरिष्ठ कलाकार नीर शाहले उनको भूमिका मन पराए । तत्कालीन नेपाल टेलिभिजनका निर्देशक निरले सरोजलाई भेट्ने इच्छा राखे । भेट भयो । मौन आकाशको चर्चा चल्यो । र टेलिभिजनमा लामो समय थन्किएको उनको सिरियलले स्थान पायो ।

यस्ता धेरै सङ्घर्ष र सफलताका कथा सँगालेका छन् कलाकार खनालले । भर्खरै मात्रै उनले आफ्ना गुरु सुनिल पोखरेललाई निर्देशन गर्न पाए । लघुचलचित्र ‘बिहानी मै अस्ताएको सूर्य’ मा उनको निर्देशकीय परिपक्वता झल्किएको छ ।

कलाकार सरोज खनाललाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया