‘अर्जुन रेड्डी’ नेपाली भर्सनको कलाकार खोज्दै निर्माता

काठमाडौँ । सुपर हिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने पक्का भएको छ। यति बेला नेपाली रिमेकका लागि निर्माण टिमले कलाकारको खोजी गरिरहेको छ। युवा फिल्म्सले चलचित्रका लागि कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ। चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन्।

चलचित्रका लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ। केही महिनाअघि नै अर्जुन रेड्डीको रिमेक बन्ने समाचार बाहिरिएको थियो। यो चलचित्रसँग केही नायकहरूको नाम समेत जोडिएको थियो।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सका तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। दक्षिण भारतीय चलचित्रको अधिकार लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो। चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्ने भएका छन्।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित यस चलचित्रलाई सन्दीप रेड्डी भङ्गले निर्देशन गरेका थिए।

चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको थियो। यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो। बलिउड अभिनेता साहिद कपुर अभिनित चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो।

प्रतिक्रिया