‘निफ’ का लागि चलचित्र छनौट

काठमाडौँ । मनसँग मन नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘निफ’  मा प्रतिस्पर्धाका लागि चलचित्र छनौट गरिएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ का लागि ५२ देशबाट ४५० चलचित्र प्राप्त भएकाेमा ३१ देशका ६३ वटा चलचित्र छनौटमा परेकाे जानकारी आयोजकले गराएको छ ।

निफको चौथो संस्करण फागुन १२ देखि १६ सम्म काठमाडौँमा गर्ने तयारीसहित विश्वभरका चलचित्रकर्मीलाई सहभागिताका लागि आयोजकले आह्वान गरेको थियो। तर कोरोना भाइरसको प्रभावलाई ध्यानमा राख्दै आगामी २०७८ वैशाख २३ मा सारिएको हाे।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ चलचित्र हेर्ने संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा  प्रतिस्पर्धा गराई अवार्ड पनि वितरण गरिनेछ। कोभिड-१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर  प्राप्त गर्नेछन्।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ। यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको बाग्मती अवार्ड यथावत् रूपमा प्रदान गरिनेछ। त्यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार प्रदान गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान अध्यक्ष केपी पाठकले बताए।

प्रतिक्रिया