फोटो तथा भिडियोग्राफी कार्यशाला काठमाडौँमा

काठमाडौँ  । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । बिहीबार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमकाबीच कार्यशालाको उद्घाटन गरिएको हो ।

बोर्डको नवनिर्मित ‘नवरस हल’ मा सुरु भएको कार्यशालामा ४० बढी पत्रकारहरू सहभागी रहेका छन् । फागुन ६ गते सुरु भएको कार्यशाला ८ गते शनिबारसम्म सञ्चालन हुनेछ । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको कार्यशालाको उद्घाटन सत्रमा फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ-संस्थाका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेल्नेमा विश्वास व्यक्त गरे ।

कार्यशालामा हरि न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दिलीप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै विशिष्ट अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, नृत्यकार संघका अध्यक्ष जनक कार्की, द्वन्द्व निर्देशक सङ्घका अध्यक्ष नारायण प्रधानको सहभागिता रहेको थियो । सबैले तीन दिने कार्यशालाको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया