प्रचण्डको सुरक्षामा खटिए पूर्वलडाकु

काठमाडौँ । नेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डे ‘परलोक’को नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो ।

सरकारले हालै पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेको छ । योसँगै प्रचण्डको सरक्षामा दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली खटाएको छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए  ।

सुरक्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा पूर्वलडाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापनअन्तर्गत खटिएको प्रचण्ड-नेपाल समूहको राष्ट्रिय युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले मकालु खबरलाई जानकारी दिए । ‘उहाँहरुको पहिला के थिए, त्यसमा नजाऊ । अहिले युवा संघमा आवद्ध हुनुहुन्छ,’ उनले भने, ‘हामीले युवा संघका साथीहरू खटाएका छौं । उहाँहरूले सुरक्षाका लागि सहजीकरण गर्ने मात्रै हो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको निवास, आवागमन र कार्यक्रममा प्रहरी र सशस्त्र प्रहरीको सहयोगीका रूपमा सूचना आदानप्रदान, थ्रेट एनलाइसिस र अन्य भूमिकामा रहेर १० जना पूर्वलडाकु खटिएका हुन् । प्रचण्डको सुरक्षामा युवा संघको तर्फबाट नेतृत्व गरेका पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएका थिए ।

गृह मन्त्रालयले भने सुरक्षा थ्रेट भएको महसुस हुनेले निवेदन दिन सक्ने जानकारी दिएको छ । सुरक्षा थ्रेट भएको महसुस हुने पूर्वपदाधिकारीले गृहमा कारणसहित निवेदन दिए आवश्यकता हेरेर सुरक्षाकर्मि थप गर्न सकिने प्रवक्ता चक्रबहादुर बुढाको भनाई छ ।

प्रतिक्रिया