टुँडिखेललाई मानव साङ्लोले घेरिँदै

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत सो समूहले आज दिउँसो ४ बजेदेखि एक घन्टा मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने भएको हो ।

पूर्वनिर्धारित विरोधको कार्यक्रम अन्तर्गत नै दिउँसो प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यो कार्यक्रममा १० हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुनेछन् ।

चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने सो समूहले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्काेको चर्काे आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया