लक्ष्मीलाई लिएर ‘घिन्ताङ’ को शुभ मुहूर्त

काठमाडौँ । चलचित्र ‘घिन्ताङ’ मा कलाकार लक्ष्मी बर्देवा अनुबन्धित भएकी छन् । एलिजा गौतमले बुबा बिरामी भएको कारण देखाउँदै चलचित्रमा काम गर्न नसक्ने बताएपछि निर्देशक तथा निर्माता दिपक श्रेष्ठले बर्देवालाई अनुबन्ध गरेका हुन् ।

योसँगै आज बसन्तपञ्चमीको दिन पारेर चलचित्रको शुभ मुहूर्तसमेत गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गरिएको हाे। चलचित्र यही शुक्रबारबाट फ्लोरमा जानेछ । अन्तरजातीय सम्बन्धको कथा बोल्ने फिल्ममा निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गरिने श्रेष्ठले बताए।

सात वर्षपछि निर्देशनमा कमब्याक गर्ने तयारीमा रहेका श्रेष्ठले पहिलो पटक नयाँ पुस्ताको सोचअनुसार सामाजिक विधालाई रोजेको बताए । नयाँ जोश र जाँगरका साथ उत्कृष्ट कथामा दर्शकको मन जित्ने दाबी निर्देशक श्रेष्ठको छ । गौरव पहाडी र बर्देवाको मुख्य भूमिका रहने चलचित्रमा चौतारीमा मादल बजाएर बस्ने धने र ब्राह्मण परिवारकी महिलाको प्रेम कथालाई देखाइने छ ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ र ४ जना बालकलाकारको अभिनय रहने छ । घिन्ताङको कथा मन्दिरा मञ्जुश्रीले लेखेकी हुन् । दीपक शर्माको संगीत रहेको ‘घिन्ताङ’मा संकल्प भुजेलले छायांकन गर्ने बताइएको छ ।

प्रतिक्रिया