डी आर उपाध्यायको ‘कफी लभ’

काठमाडौँ । गीतकार तथा आख्यानकार डा. डी आर उपाध्यायले आफ्नो ११ औँ उपन्यास ‘कफी लभ’ सार्वजनिक गरेका छन् । प्रणय दिवसको अवसर पारेर आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशकलगायतले यो पुस्तकको संयुक्त विमोचन गरे ।

कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अवरोहमा केन्द्रित भएर उपन्यास लेखिएको छ ।

पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवनशैली र वर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेको बताए । उपन्यासले सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले प्रेमको परिभाषा दिएको आख्यानकार सिग्देलले बताए ।

त्यस्तै आख्यानकार उपाध्यायले पुस्तक लेख्दा आफू २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरूको सङ्गतमा रही उनीहरूको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै अरू उपन्यासभन्दा यो फरक शैलीमा लेखकले तयार गरेको बताए ।

पुस्तकका सम्पादक तथा गीतकार सञ्चारकर्मी डब्बु क्षेत्रीले आफ्नो उमेरभन्दा आधा उमेरमा झरेर आख्यानकार उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रूपमा पुस्तकमा उतारेको बताए । प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही किताबमा परेको महसुश पाठकलाई हुने जिकिर गरे ।

शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेसनले वितरण गरेको छ । २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया