प्रणाली बलियो बनाउन संसद विघटन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासन प्रणालीलाई थप बलियो र सुदृढ बनाउन प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । सरकारको तीन वर्षे कार्यकालका उपलब्धिबारे ब्रिफिङ गर्ने क्रममा प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक वर्तमान प्रणालीभित्रै रही यसलाई थप बलियो र सुदृढ बनाउन संसद विघटन र चुनाव घोषणा गरिएको दाबी गरेका हुन् ।

सिंहदरबारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले बहुमत प्राप्त आफ्नै दलको नेतालाई काम गर्न नदिने तथा पार्टीभित्रै समानान्तर सत्ता चलाउने षडयन्त्र भएकाले त्यसलाई चिर्दै लोकतन्त्रमा देखिएको यस्तो खराब पद्धतीको अन्त्य गर्न प्रतिनिधि सभा विघटन गर्ने निर्णयमा पुग्नुपरेको उनको दाबी छ ।

आफू संघीय गणतन्त्र र लोकतान्त्रिक प्रणालीको दायराबाहिर नगएको भन्दै प्रधानमन्त्री ओलीले त्यही सीमाभित्रै रहेर प्रणालीलाई सुदृढीकरण गर्दै जनताको आदेश र अभिमतबाट अघि बढ्ने बताए । संविधानले तोकेका प्रणालीका सीमाभित्रै रही प्रणालीमा सुधार र परिपक्वताका लागि थप कदम चाल्नुपरेको उनले बताए । आफ्नो निर्णय अहिलेको प्रणालीमा क्रमिक सुधारका पक्षमा भएको दाबी गर्दै उनले संरचनाभित्र यसको अन्तरवस्तुमा सुधार आवश्यक भएकाले संसद विघटनको सिफारिस गरिएको बताए ।

सरकार गठन भएदेखि नै सरकार सञ्चालनमा केही अप्ठ्यारा परिस्थिति आएको भन्दै पछिल्लो एक वर्षदखि झण्डै २ तिहाइ सांसदको बहुमतप्राप्त भएर पनि सरकारले त्यसअनुसार काम गर्न नसकेको उनको भनाइ छ ।

एकातिर सरकारको उच्च आकाङ्क्षा संबोधन गर्नुपर्ने, अर्कातिर आफ्नै खुट्टामा अल्झिएर काम गर्नै नसकिने अवस्था आएपछि संसद विघटन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

तीन वर्षदेखि संवैधानिक आयोग पदाधिकारीविहीन रहेको, नियुक्ति प्रकृयामै जान नपाउने अवस्था सिर्जना गरिएको, संसदमा पेश भएका कयौं विधेयक छलफलका लागि नलगिएको, समितिमा पुगेका विधेयक पनि अनावश्यक छलफलको गोलचक्करमा फसाइएको, निर्णयका लागि पेश भएका प्रतावसमेत निर्णयार्थ पेश नभएकाले सरकारले काम गर्न नसक्ने अवस्था संसदभित्रैबाट सिर्जना गरेको प्रधानमन्त्री ओलीको आरोप छ ।

त्यस्तै राजदूत नियुक्ति गर्न नदिइएको, संवैधानिक नियुक्तिका लागि सिफारिस भइहाले कचिङ्गल मच्चाइएको र संसदीय सुनुवाई समितिमा आफ्नै दलका सांसदले पनि त्यसलाई अड्काएको र विकासको गतिलाई नै अवरोध पुर्याइएको दाबी गर्दै उनले उनले सरकारी निकायको कार्यकारी पदमा अनुपयुक्त पात्र अघि सार्ने वा नियुक्ति नै हुन नदिने गरी समानान्तर सत्ता चलाउने अभ्यास गरिएको उनले बताए।

सकेसम्म अल्मल्याउने नसके निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका नेता र सांसद उभिएकाले आफू प्रतिनिधि सभा विघटन गर्न  बाध्य भएको उनको दाबी छ ।

पार्टीभित्र र संसदीय दलमा आफूविरुद्ध कुनै उजुरी नपरेको तर अनेकौँ लान्छना लगाई कामै गर्न नदिइएको र संसदमा ६४ प्रतिशत बहुमत प्राप्त भएकाले अर्को सरकार बन्नै नसक्ने अवस्था भएकाले आफूले संसद विघटन गरेर देशलाई निकास दिएको ओलीको दाबी छ ।

चुनावको घोषणा प्रतिगमन नभएको र यसले अग्रगमन र अहिलेको अवस्थामा देखिएका गलत अभ्यासलाई सच्याउन सघाउने जिकीर गर्दै प्रधानमन्त्री ओलीले चुनावले नेकपाभित्र र अरु दलभित्र पनि एकता हुने भएकाले कसैले पनि यसको विरोध गर्नु नपर्ने बताए ।

‘सार्वभौमसत्ता सम्पन्न नागरिकले चुनेका प्रतिनिधिबाट शासन गर्ने प्रणाली कसरी अलोकतान्त्रिक?’ भन्दै उनले थपे, ‘मैले सधैं शासनमा बसिरहन्छु भनेको होइन । म वैशाख १७ र २७ गते चुनाव गुराउँछु भनिरहेको छु। कुनै हालतमा चुनाव हुँदैन भन्ने कस्तो भविष्यवाणी हो? उहाँहरु जन्मकुण्डली पढ्नुहुन्छ कि राजनीति गर्नुहुन्छ?’

‘अघिल्लो जनादेशको नतिजा उपयुक्तै थियो, तर जनादेशबाट आएका पात्र उपयुक्त भएनन्,’ उनले भने, ‘अतः पुनः चुनावमा गएर नयाँ पात्र छान्नुपर्ने अवस्था आएको हो ।’

प्रतिक्रिया