प्रणय दिवसमा प्रेमका कुरा

  • दिक्षा कट्टेल

काठमाडौँ । प्रणय दिवस १४ फेब्रुअरी, माया नै मायाको दिन । माया साट्न कुनै दिन पर्खिनु पर्दैन भन्नेको कमी पनि छैन । तर व्यक्त गरिएको प्रेमले आफ्नो पार्टनरलाई खुसी बनाउँछ र सम्बन्ध बलियो हुन्छ भने किन नसाट्ने हैन र ? हाम्रो संस्कृति हैन भन्दै गर्दा सती प्रथा पनि हाम्रै संस्कृति थियो । त्यो छोडियो भने मायाको पर्वलाई स्विकार्दा खराबी के नै छ र ?

निर्देशक नवल नेपाल पहिलो पटक भोजपुर देउराली ससुराली जाँदै थिए, श्रीमतीसँगको पहिलो यात्रा अनि ससुरालीमा पहिलो दसैँ मनाउन । पहाडमा झपक्कै फलेको कोदोको बालाले उनलाई आकर्षित गर्‍यो । लामै समय भएको थियो पहाडमा यो क्षण अनुभव गर्न नपाएको । फेरी माया पनि त सुरु हुँदै थियो । झोलामा भएको ३६ स्न्याप हान्ने रिल राखेको एनालग क्यामेरा झिके उनले, अनि तस्बिर कैद गर्न लागे । नव विवाहित जोडीको एकसाथ तस्बिर लिने चाह खासै नौलो पनि होइन । पहाडमा उकाली ओराली गर्ने मान्छेहरूलाई रोकेर उनले रबिता भट्टराई सँग पोज पोजमा तस्बिर खिचाए । आँखामा आँखा जुधाउँदै, हात समातेर, अङ्कमाल गरेर, एक अर्कामा हेराहेर गर्दै करिब २ घण्टा तस्बिर खिचे । फोटो धुलाउन तराइ नै पुग्नु पर्थ्यो । जब इटहरी पुगेर रिल बोकेर धुलाउन गए, पछि पत्ता लाग्यो सबै तस्बिर जलेछन्… अहिलेको झैँ भए पो ‘रिकभर’ गर्नु उ बेला कुनै विकल्प नै थिएन । दुखमा नवल र रविताले एक छाक खाना नै खाएनछन् ।

अहिले सम्झिदा दुवै एकसाथ बसेर हाँस्छन् ‘उ बेला दुख लागे पनि अहिले त रमाइलो नै लाग्छ’ नवल हँसिलो मुख पार्दै सम्झिन्छन् ।

रोमान्टिक गीत सङ्गीत र चलचित्रमा अभिनय गर्ने गरेका कलाकार यशराज गराचलाई पहिला पहिला माया साट्न कुनै दिन पर्खिनु पर्दैन भन्ने लाग्थ्यो । तर समयले उनलाई अलिक फरक उपहार दियो । प्रणय दिवसकै दिन उनको करियर र जीवनमा परिवर्तन आयो । कक्षा ११मा पढ्ने समय उनी मनोरञ्जन क्षेत्रको पहिलो पाइला चाल्दै १४फेब्रुअरीमा मिस्टर भ्यालेन्टाइनको शीर्ष उपाधि जिते । अझ मिठो सन्जोग त उनले सोही दिन श्रीमती अन्जुलाई समेत भेटेका थिए । अन्जुकी दिदीले उपाधि जितेकी थिइन् भने उनी पनि सहभागी भने भएकी थिइन् । अहिले दुईबाट तीन बनेका एस र अन्जुको प्रेम लोभलाग्दो छ  ।

बच्चा बेला बाट का साथी निर्देशक समुन्द्र भट्ट र आकाश बुढाथोकीको प्रेम प्रसङ्ग चाखलाग्दो छ । जुडो खेलाडी समुन्द्रलाई कराँते खेलाडी आकाशले केटी भनेर हेप्न खोजेछन् । जङ्गी स्वभावकी समुन्द्रलाई यो कुरा पचेन । अनि उनले ‘सिङ्गल सिङ्गल’ खेल्ने हो ? भन्दै प्रस्ताव गरिछिन् । आकाशमा परेको पितृसत्तात्मक सोचको प्रभाव उनी पछि हट्ने कुरै भएन । तर समुन्द्रले दुई पटक छातीमा हानेर ढालिदिइन् । बिस्तारै सम्बादः बढ्दै गयो र प्रेम बस्यो ।

‘धेरै त हाम्रा यस्तै थ्रिलर प्रसङ्ग छन्’  भन्दै उनले अर्को एक दिन सम्झिइन् । करिब ५वर्ष अघिको प्रणय दिवसमा उनले आफ्ना प्रेमी (उक्त समय विवाह भएको थिएन) सँग अप्रिल फुल मनाएकी रहिछन् । घरबाट हेरेको केटासँग विवाह गर्नु पर्ने भयो भनेर उनले आकाशलाई कल गरिन् । आकाश पागल प्रेमी झैँ गुलाबको गुच्छा बोकेर घर अगाडी आएर रोएर बसेको क्षण उनी सम्झिन्छिन् । ‘मलाई इलेकट्रोनिक सामान किन्दा आउने पड्काउने प्लास्टिक हुन्छ नि त्यो धेरै मन पर्ने, पड्काएर बस्थे । वहाले त गुलाबसँगै त्यो बोकेर आउनु भएको रहेछ । यस्तो क्षणहरू सम्झिदा खुसी लाग्छ ।’ करिब १५वर्ष यताको सफल सम्बन्धमा रहेका जोडीको नाम आफै पनि आकर्षक छ, आकाश-समुन्द्र ।

लेखक निर्देशक तथा पत्रकार लक्ष्मण सुबेदी आफूले भन्दा पनि श्रीमती श्रीदेवीले अधिकांश समय ‘स्पेसल फिल’ गराउने गरेको बताउँछन् । माघ १९मा पर्ने उनको प्रत्येक जन्मदिनमा श्रीमतीले १२ बजे सम्म बसेर पहिलो शुभकामना दिने गर्छिन् । दुई सन्तानकी आमा बनिसक्दा समेत लक्ष्मणले उनीबाट सोही माया र केयर पाउँदै आएका छन् । पहिला अहिले जस्तो फेसबुक थिएन । ‘त्यो बेला समेत १२ बजेसम्म अलमल्याएर जन्मदिनको शुभकामना नबाँडी उनी सुत्दैन थिइन् ।’ उनी सम्झिन्छन् । कतिपय वर्ष त लक्ष्मण आफैले जन्मदिन बिर्सिएकोमा श्रीमतीले सम्झाएर सम्झाउने गर्थिन् ।

रङ्गमन्चमा भेटिएका जोडी बिजय बराल र प्रमिला खनालको विवाहको एक वर्ष बित्न लाग्यो । तर प्रोफेसनको ह्यांगले सम्बन्धलाई छोडेन । अझै पनि उनीहरु एक अर्कालाई ‘सर म्याम’ सम्बोधन गर्छन् । एकै गोत्रका यी दुईलाई विवाह हुदैन की भन्ने ठुलै चिन्ता रहेछ, तर पारिवारिक सहमति मै विवाह गरे यी दुईले ।

सम्पूर्ण मायालु मनहरूमा प्रणय दिवसको शुभकामना ।

प्रतिक्रिया