सिख महाराजा रणजीत र मुस्लिम युवतीको रोचक प्रेम कहानी

एजेन्सी । १८ वर्षकी उनी पेशाले नर्तकी र गायिका थिइन् । तर उनको सुन्दरता र  आवाजको जादुले एकै भेटमा महाराजा लट्ठ भएका थिए । यतिसम्म कि उनीसँग विवाह गर्नका लागि आफू कोर्रा खानसमेत तयार हुन्थे महाराजा ।

ती युवती अमृतसरकी गुल बहार थिइन् । उनलाई पञ्जाबका शासक महाराजा रणजीत सिंहले पहिलो पटक एक शाही समारोहमा गाउँदै गरेको देखेका थिए । त्यसै समय महाराजाले गुल बहारको नजिक जाने कोशिस गरेका थिए । गुल बहारले अस्वीकार गर्दागर्दै पनि महाराजा उनलाई आफ्नो बनाउन चाहन्थे ।

पञ्जाबको इतिहास अनुसन्धानकर्ता एवम् लेखक इकबाल केशरका अनुसार रणजीत सिंह ती युवतीप्रति यति मोहित भएका थिए कि उनी आफ्नो सबैथोक उनलाई सुम्पिन तयार थिए । गुल बहार एक मुस्लिम परिवारकी थिइन्, त्यसकारण महाराजा रणजीतको प्रेमिका बन्ने प्रस्ताव अस्वीकार गरेको उनले बताएकी थिइन् ।

त्यस समय महाराजाको उमेर ५० वर्षभन्दा माथि थियो । गुल बहारले यदि महाराजाले चाहेमा आफू विवाह गर्न तयार रहेको बताइन् । अनुसन्धानकर्ता इकबालका अनुसार महाराजा रणजीत पनि विवाहका लागि तुरून्त राजी भए ।

पञ्जाबका महाराजाले औपचारिक रुपमा गुल बहारको परिवारसँग उनको हात मागे । एक कथनअनुसार गुल बहारले विवाह प्रस्तावसँगै आफ्नो हात माग्न रणजीत सिंह लाहोरबाट पैदल हिँडेर अमृतसर आउनुपर्ने शर्तसमेत राखेकी थिइन् । यद्यपि इकबाल केसरका अनुसार इतिहासका पुस्तकले यसबारे कुनै पुष्टि गरेको छैन ।

पञ्जाबका महाराजाको लागि सिख धर्म छाडेर मुस्लिम युवतीसँग विवाह गर्न त्यति सजिलो थिएन । धर्म छाडेर अन्य धर्म ग्रहण गरेकी युवतीसँग विवाह गर्ने उनको निर्णयबाट सिख धर्म मान्दै आएका उनका नजिकका नातेदार आक्रोशित थिए । मुस्लिमसँग विवाह गरेकै कारण अकाल सिंहासनले महाराजा रणजीतलाई कोर्राको सजाय सुनायो । रणजीतले गुल बहारका लागि सो सजाय पनि स्वीकार गरे ।

यद्यपि उनलाई रेशमको कोर्राले हानेर सजाय पुरा गरिएको थियो । महाराजा रणजीतको साम्राज्यको सीमा पञ्जाब बाहिरसम्म फैलिएको थियो । यस्ता प्रभावशाली व्यक्तिलाई कसले कोर्रा हान्न सक्थ्यो ? अर्को कुरा अकाल सिंहासनको आदेश पनि थियो, जुन रणजीत सिंहले अस्वीकार गर्न असम्भव थियो । त्यसकारण रेशमको कोर्राले हानेर सजाय पुरा गरियो ।

रणजीत गुल बहारसँग यतिसम्म प्रेम गर्थे कि उनले गुल बहारका लागि आफ्नो हातमा मेहेन्दी समेत लगाए । विवाह सम्पन्न गरी गुल बहारलाई लाहोर लैजाने क्रममा उनलाई असहज नहोस् भन्ने हेतुले त्यसै समय पुल निर्माण गरेर नदी पार गराए ।

गुल बहारसँग विवाह गरेको करिब ८ वर्षपछि रणजीत सिंहको मृत्यु भयो । उनको मृत्युपछि अंग्रेजले पञ्जाबमाथि कब्जा जमाएको थियो । रणजीतकी अन्तिम पत्नी जिन्दालाई देश निकाला गरिएको थियो, किनकी उनका छोरा दिलिप सिंहलाई रणजीतको उत्तराधिकारी नियुक्त गरिएको थियो ।

गुल बहारको भने आफ्ना सन्तान थिएनन्, यसकारण ब्रिटिस सरकारलाई उनीबाट कुनै खतरा थिएन । उनकाे अथाह सम्पत्ति थियाे । उनले एक मुस्लिम युवक सरदार खानलाई धर्मपुत्र बनाएकी थिइन् । उनको मृत्युपछि सबै सम्पत्ति उनकै धर्मपुत्र सरदारलाई दिइएको थियो ।

(बिबिसी हिन्दीबाट भावानुवाद गरिएको)

प्रतिक्रिया