मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

फागुन १ आइरहे तर, द्वारिकाप्रसाद आएनन्

  • दिक्षा कट्टेल

काठमाडौँ । फागुन १ हरेक वर्ष आउँछ अनि जान्छ । तर, चलचित्रकर्मी द्वारिकाप्रसाद उदय कहिल्यै आउँदैनन् । फागुन १ सँगै छुटेका बुवा द्वारिकाको पर्खाइमा छोरो प्रदीप उदय मात्रै होइनन्, उनका आमादेखि दाइ दिदीहरु पनि छन् । फागुन १ ले बुवा होइन, केबल बुवाका यादहरु मात्रै लिएर आउने गर्छ कमसेकम उनीहरुका लागि ।

द्वारिका ठीक १९ वर्षअगाडि आजकै दिन (फागुन १) बिहान बुटवलस्थित निवासबाट निस्किए । पोखरासम्म जान्छु भनेर हिँडेका द्वारिका पोखरासम्म पुगे वा पुगेनन् परिवार नै बेखबर । १९ वटा फागुन १ आए । तर, एकजना बुवा कहिल्यै फर्केनन् । प्रदीप चित्त दुखाउँछन्, ‘जति नै सामान्य छु भनेर देखाउन खोजेपनि मनमा भएको चोट र अभाव कहीँ न कहीँ देखिन्छ हालिन्छ नि ।’

बुवा फर्केर आउँछन् भन्ने आशा अझैसम्म ताजै छ परिवारसँग । तर, अफसोच आशा आशामै सीमित भएको वर्ष गन्ने हो भने पनि १९ वटा गइसक्यो । परिवारले घरमूलीलाई पर्खेर गएको पट्यारलाग्दो समय न छोटिन्छ न टुट्छ । यो त केबल गइरहन्छ । तानिइरहन्छ ।

‘जति नै सामान्य छु भनेर देखाउन खोजेपनि मनमा भएको चोट र अभाव कहीँ न कहीँ देखिन्छ हालिन्छ नि ।’

३ सन्तान सुम्पेर रहस्यमय तरिकाबाट गायब भएका द्वारिकालाई पर्खेकी श्रीमती कृष्णकुमारीको केस सेतै फुलिसकेका छन् । तर, मनमा आशाको फल कहाँ फल्न सक्यो र । उनको व्यग्र प्रतीक्षा सधैं व्यग्रै रहिरह्यो । द्वारिकाले घर छाडेर हिँड्दा टुकुटुकु हिँड्ने नातिनातिना जवान भइसकेका छन् । द्वारिकाले देख्दै नदेखेका सन्तानहरुले घरको आँगन भरिएको छ । रित्तिएको छ त केबल, हृदयमा भएको द्वारिकाको स्थान ।

बुटवलमा चलचित्र मन्दिर घरसमेत सञ्चालनमा ल्याएका र दुई कार्यकालको लागि नेपाली चलचित्र संघको अध्यक्षसमेत भएका द्वारिकाको रहस्यमय छलसँग परिवार मात्रै स्तब्ध छैन, सिङ्गो बुटवलको चलचित्र क्षेत्र अनि समग्र नेपाली चलचित्र उद्योग नै पनि बेखुशी छ । आउँछु भनेर गएका द्वारिका आजसम्म फर्केका छैनन् । कसैले भनेको थियो, आउनेहरु जान्छन्, तर जानेहरु आउँदैनन्, हो क्यार ।

दवारिका गोरखपुरसम्म पुगेको खबर पाएको परिवार नेपालभित्र मात्रै पनि भौंतारिएन । भारतसम्म पनि पटक–पटक पुग्यो । तर, नियतिनै भन्नुपर्छ, न द्वारिका नै पत्ता लागे न पत्ता लाग्यो, द्वारिकासँग सम्बन्धित केही जानकारी नै ।

‘किन ? भन्ने प्रश्नको जवाफ मात्रै पाउन पाए पनि हुन्थ्यो । अरु समय त जसोतसो बित्छ । तर, यो फागुन १ सँग भने अत्यास लाग्छ’, प्रदीपले मकालु खबरसँग भनेका छन्, ‘आज त उहाँ हिँड्नभएको दिन ।’

‘सम्झिँदा गाह्रो हुन्छ । तर, खैर हुनेवाला केही छैन ।’

प्रदीप आफ्नो बुवाको विरासतलाई नै थाम्दै आएका छन् । चलचित्र क्षेत्रमै सक्रिय उनले ‘द्वारिका उदय प्रतिष्ठान’ स्थापना गरेका छन् । जहाँबाट उनले चलचित्रकर्मी तथा समाजसेवीहरुलाई प्रोत्साहनस्वरुप पुरस्कार दिँदै आएका छन् । बुवाको सम्झनालाई प्रतिष्ठानको रुपमा उभ्याएका छन् प्रदीपले । ‘मलाईभन्दा बढी उहाँको योगदानबारे त उहाँकै समकालीन साथीहरुलाई बढी थाहा छ’, संघको भवन आफ्नै कार्यालयमा रहेको सुनाउँदै प्रदीप थप्छन्, ‘सम्झिँदा गाह्रो हुन्छ । तर, खैर हुनेवाला केही छैन ।’

आफ्नो मन भुल्याउन फेसबूकमार्फत् बुवालाई सम्झेका प्रदीपले बुवाको अभावमा आफू अधुरो रहेको जनाउ दिएका छन् । उनलाई शंका छ–मेरो अर्तनाद बुवाले सुन्छन् वा सुन्दैनन् ?

यसका अलावा द्वारिका बुटवलका विकासका निर्माणका संवाहक पनि थिए । भारतको ब्रह्माकुमारी जाँदा देखेको पार्क मन परेर नेपाल आएलगत्तै नगरपालिकासँग समन्वय गरेर बनाएको फूलबारी अहिले त्यहाँको ‘पर्यटन हब’ बनेको छ । लायन्स क्लबद्वारा सञ्चालित बुटवल आँखा अस्पतालदेखि परिवार नियोजन सङ्घ बुटवल, कान्ति माध्यमिक विद्यालयमासमेत उनको अतुलनीय योगदान रहेको छ ।

अतः परिवारको आँसु पुछ्नुभन्दा माथि उठेर सोच्दा नेपाली चलचित्र क्षेत्र, बुटवलको विकास निर्माण र समाजसेवाका लागि भए पनि द्वारिका फर्किउन् ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com