गोविन्द केसीको प्रश्न–‘संविधानको हत्या हुँदा हामी चुप लाग्नुपर्ने ?’ [भिडिओसहित]

काठमाडौँ । लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राखी पटक–पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भनेका छन् । शुक्रबार प्रतिनिधि सभा विघटनविरुद्धको काठमाडौँको नागरिक आन्दोलनलाई सम्बोधन गर्दै डा. केसीले ओलीले तानाशाही रुप देखाएको बताएका हुन् ।

ओलीले जनताले आफ्नो ज्यानको आहुति दिएर ल्याएको प्रजातन्त्रको हत्या गरेको भन्दै डा. केसी ओलीमाथि खनिएका हुन् । ‘ओली तानाशाह निस्किए’, डा. केसीले भनेका छन्, ‘ओलीले आउनेबित्तिकै नागरिकको अधिकार खोसे । अनि निरङ्कुशवाद ल्याए ।’

स्वतःस्फूर्त रुपमा हुने नागरिक आन्दोलनमा प्रहरी दमन बढेको दृष्टान्त सुनाउँदै डा. केसीले प्रहरीको कुनै दोष नभएको र उसले शासकबाट आएको आदेशको पालना मात्रै गरेको बताए । डा. केसीले भनेका छन्, ‘मैले देखेको छु, मैले भोगेको छु । अहिले निरङ्कुशता छाएको छ । जति पनि दमनहरु छन् । यो प्रहरी आफैँले गरेको होइनन । खाली माथिबाट भएको आदेशलाई पालना गरेका मात्रै हुन् । उनीहरुले पनि आदेशको पालना त गर्नैपर्यो ।’

ओलीले सत्तामा आएबित्तिकै तानाशाह प्रवृत्ति हाबी गरेको बताउँदै डा. केसीले सामाजिक सञ्जालमाथि नियमनबारे पनि असन्तुष्टि पोखे । ‘अब अहिले पनि सामाजिक सञ्जालको कुरा आइरहेको छ । ओली शुरुदेखि नै तानाशाही देखिएका थिए’, डा. केसीले भनेका छन् । संविधान र प्रजातन्त्रको हत्या भएको बताउँदै डा. केसीले प्रश्न गरे– ‘संविधान र प्रजातन्त्रको हत्या हुँदा हामी चाहिँ चुप बस्नुपर्ने ?’

गत ५ पुषमा प्रतिनिधि सभा विघटन भएपछि राजनीतिक दलसँगै स्वतन्त्र नागरिकसम्म सडकमा छन् । उनीहरुले प्रतिनिधि सभा जसरी पनि पुनर्स्थापना हुनुपर्ने अडान राखिरहेका छन् भने सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।

प्रतिक्रिया