नेपाल लाइफको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ ।

बुधबार वीरगञ्जमा सम्पन्न २०औं वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ७,१९,९९,७०,६६१ हुनेछ ।

अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा वर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजारहिस्सा हाँसिल गर्न सफल भएकोमा सम्बद्ध सबैलाई बधाई ज्ञापन गरे ।

साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रति शेयर अंकित मूल्य १०० को व्यवस्थालाई परिवर्तन गरि प्रति शेयर अंकित मूल्य रु.५० कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको छ । सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानी गर्ने तर्फ ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको छ ।

साथै संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।

हाल कम्पनीको लगानी रु १०५.५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,६९,४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेका छन् ।

प्रतिक्रिया