गणतन्त्र र संघीयता असफल भयो : कमल थापा

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल सावित भएको बताएका छन् । राप्रपा काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिह्न अनावरण, झण्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्दा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठूलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भन्दै व्यंग्य गरे ।

०६२-०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताउँदै अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाइएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने दाबी गरे । राजनीतिको नाममा व्यक्तिगत र गुटगत स्वार्थ बोकेकाहरु अब पाखा लाग्ने उनले ठोकुवा गरे ।

पार्टीको नीति र सिद्धान्तलाई बोकेर हरेक नेपालीको घरदैलोमा पुग्न आग्रह गर्दै उनले राजसंस्थासहितको लोकतन्त्र, हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासन प्रणाली स्थापना गर्न राप्रपा दृढ रहेको दोहोर्याए ।

प्रतिक्रिया