‘गोरे सार्की’ बनाउदै अर्जुन कुमार

काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’ रोकियो । विश्व नै त्रसित बनाएको कोरोना भाइरसको मार यसका निर्माताले समेत भोग्न पर्‍यो । चलचित्रको प्रचारप्रसारको सम्पूर्ण तयारी सकेर प्रदर्शनको चरणमा रहेकोमा अन्तमा आएर रोकिएर बस्नु परेको छ । अझै पनि कहिलेबाट प्रदर्शन गर्ने टुङ्गो लाग्न सकेको छैन । निर्माता अर्जुन कुमार कहिलेबाट चलचित्र हलमा लगाउने भन्ने अन्योलमा नै छन् । ‘हलमा दर्शक नै छैनन् !’ भन्ने उनले वैशाखबाट प्रदर्शन गर्ने हो की भन्ने योजना बनाएका रहेछन् । तर दर्शकको अनुपस्थितिले उक्त मिति सरेर भदौ असोज सम्म पुग्ने सम्भावना पनि देखिएको छ, भन्छन् उनी ।

यही बिच उनले नयाँ चलचित्रको स्क्रिप्टको तस्बिर सार्वजनिक गरेका छन् । मकालु खबरसँग कुरा गर्दै उक्त चलचित्र उनी आफैले निर्देशन गर्ने बताएका छन् । ‘गोरे सार्की’ नाम राखेर निर्माण हुने चलचित्र जेठबाट छायाङ्कनमा जाने छ । कलाकार समेत फाइनल भैसकेको चलचित्रको कथा ‘कसले लेखेको?’ भन्ने प्रश्नमा उनले ‘पर्खनुस् न केही दिनमा थाहा हुन्छ’ भन्ने जवाफ दिए । थ्रिलर ड्रामा चलचित्रको प्रदर्शन मिति भने उनले २०७८को कार्तिकलाई बुक गरेका छन् । चलचित्रको नामको विषयमा गरिएको प्रश्नमा उनले जातको विषयमा चलचित्र नभएको बताए । ‘क्रिकेटर सोमपाल कामी नाम सुन्नु भएको छ नि ?’ भन्दै उनले त्यस्तै ‘गोरे सार्की’ एक नाम मात्रै भएको बताएका छन् । अर्जुन कुमार फिल्म्सको निर्माण रहने स्क्रिप्ट फाइनल भएको चलचित्रको छिटै नै प्रेसमि गरी सम्पूर्णमा जानकारी दिने समेत उनले बताए ।

प्रतिक्रिया