मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘व्यवसाय थाल्नुको अर्थ क्रिकेट छाड्नु होइन’

सुवास खकुरेलेकाे क्रिकेट र व्यावसायिक यात्रा

  • सृष्टि नेपाल

काठमाडौं । ‘बाजेको मः  म पसल’ मार्फत् नेपालका शतकधारी क्रिकेटर सुवास खकुरेलले व्यवसायमा डेब्यु गरेका छन् । उनी व्यवसायको बाटोमा मोडिएसँगै केहीले प्रश्न गर्न थालेका छन् – ‘क्रिकेट छाेड्नुभएकाे हो ?’

सफल हुन्छु कि हुन्न भन्ने धरमरबीच थालेकाे नयाँ यात्रालाई हौसलाको ठाउँमा ‘विचरा’ काे बाढी लागेपछि उनलाई अलिकति ठेस लागेजस्ताे भएकाे छ । ‘धेरैले क्रिकेटमा टिक्न नसकेर व्यवसाय सुरु गर्यो भन्नुभएको छ । क्रिकेटबाट दैनिकी धान्नै नसकेर होइन, व्यवसाय गर्ने पहिल्यैदेखिकाे अठाेट पुरा गर्न व्यवसाय सुरु गरेको हुँ,’ सुवास भन्छन्, ‘यो पहिलो कदम हो ।’

माघ २ गतेबाट उनको व्यावसायिक उडान सुरु भएको हो । ललितपुरको च्यासलमा दुई साथी मिलेर खोलेका हुन् –‘बाजेको मःम पसल ।’ व्यापार सन्तोषजनक छ, सफल हुनेमा आशावादी पनि छन् सुवास ।

व्यवसायमा जोडिए पनि क्रिकेट भने फिटनेसले भ्याउन्जेल खेल्ने उनी बताउँछन् । भन्छन्–‘व्यवसाय गर्दैमा खेल जीवन खस्किन्छ, अभ्यास गर्नै भ्याइँदैन भन्ने हुँदैन । म पहिलो प्राथमिकतामा क्रिकेटलाई राख्छु, साथीहरुले व्यवसायमा ध्यान दिनुहुन्छ’, उनले मकालु खबरसँग भने ।

सुवासले नेपाली क्रिकेटमा १५/१६ बिताइसकेका छन् । अझै  कम्तिमा ५/७ वर्ष यही क्षेत्रमा टिकिरहने उनको इच्छा छ । तर, चोट र दुखाइका कारण यसको विकल्प खोज्ने बेला भएको उनको ठम्याइ छ । पहिले क्रिकेट नै सबैथोक जस्तो लाग्थ्यो, यसैमा कसरी राम्रो गर्ने भन्नेमा केन्द्रित थिए, छन् पनि । त्यसैले अरुतिर ध्यानै दिएनन् । बारम्बार हुने इन्जुरीका कारण टीमबाट बाहिरिरहनु परेपछि भने उनको ध्यान व्यवसायतिर खिचियो । यद्यपि ध्यान जता खिचिए पनि अहिले नै क्रिकेट त्याग्नेबारे भने उनले सोचेका छैनन् । फिटनेस खस्कियो भने मात्रै पूर्ण रूपमा व्यवसायमा सक्रिय हुने उनकाे साेच छ ।

‘सफल होला, नहोला त्याे अलग कुरा हाे । तर व्यवसायले पनि धेरै कुरा सिकाउँछ भन्ने लागेको छ । गुणस्तरीय सेवाले ग्राहकको मन जितेर यसको सञ्जाल देशभर विस्तार गर्ने इच्छा छ, आशा गरौँ सफल हुनेछु’, उनले भने ।

सपनाहरुकाे उडान

सानोमा जान–अन्जानमै अनेकथरी सपना बुनिन्छ । पाइलट, इन्जिनियर, शिक्षक, डाक्टर लगायतका सपना त सामान्य नै हुन् । यी सपना परिवार, समाजले नै बाल मनोविज्ञानमा जबरजस्ती घुसाइदिन्छ । सुवासले पनि यस्तै बग्रेल्ती सपना बुनेका थिए, तर ती सबै सपनामै सिमित भए ।

|क्रिकेटर सुवास खकुरेल। तस्वीरः मकालु खबर|

सपनामध्येबाट पाइलटतिर अलि बढी झुकाव थियाे उनकाे । फेरि विमान दुर्घटना भएकाे खबर सुन्दा त्याे सपना त्यहीँ मर्थ्याे । पाइलट बन्ने सपना मर्दै जाँदा इन्जिनियर बन्ने सपना हुर्कियाे ।

त्यतिबेला उनको फुपुको घरमा कम्प्युटर थियो । फुपुकाेमा जाँदा सुवास दिनैभरी कम्प्युटरमा गेम खेल्थे । गेम खेल्दाखेल्दै सपना बुन्न भ्याइहाल्थे– ‘भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने, कम्प्युटर किन्ने र अघाउन्जेल गेम खेल्ने ।’

बालखकालकाे यो सपना पनि धेरै समय टिकेन । प्लस टु पछि बायोटेक पढ्ने सोचे तर रसायनशास्त्रमा कमजोर थिए । धेरै मेहनत गर्नुपर्ने भएपछि उनले त्यो सपना पनि त्यागिदिए ।

बाल्यकालमा उनले क्रिकेटर बन्ने सपना भने देखेकै थिएनन् । यद्यपि खेलकुद गतिविधिको पाटो भने बनेको थियो क्रिकेट । विद्यालयको चौर, घरको आँगन उनका लागि क्रिकेट मैदान जतिकै थियो । घर वरिपरि भएका स्रोत साधनलाई क्रिकेटको ब्याट बल र स्टम्पका रुपमा प्रयोग गर्थे ।

ठुलो बुवाको छोरा साथीहरुसँग क्रिकेट खेल्न जान्थे, एकदिन उनलाई पनि लिएर गए । पहिलो पटक खेलेपछि यो खेलबाट टाढा रहन मन लागेन । विस्तारै साथीभाइ मिलेर खेल्न थाले । यद्यपि यो समयमा पनि उनले सोचेका थिएनन्–‘म क्रिकेटमै भविष्य बनाउँछु ।’ राष्ट्रिय टोलीमा पुगेर देशका लागि खेल्छु भन्ने कुरा त निकै परकाे कुरा भैगयाे ।

उनी धेरै राम्राे पनि खेल्दैन जान्दैन थिए त्यसबेला । गज्जब खेल्छु भन्ने लागेपनि सोचेजस्तो सफल थिएनन् । बलिङ गर्थे, किपिङमा सकस । तर दिनानुदिन क्रिकेट उनको मनोरञ्जनको पाटो बन्दै गयाे । क्रिकेटकाे ब्याट समाउँदा उनलाई रमाइलो लाग्न थाल्याे । खुशी र सन्तोष मिल्न थाल्याे । उनकाे मनले ‘क्रिकेटलाई नै अँगाल’ भन्ने सन्देश प्रवाह गरिरहेको थियो मस्तिष्कमा, सुन्न भने समय लाग्यो सायद ।

यसैबीच कलेजमा एक दिन पारस खड्का, विनोद दास, शरद भेषवाकर लगायत क्रिकेट खेल्न आइपुगे । उनीहरुको टोली आउँदा हेर्नेको ताँती लाग्थ्यो । जुन ताँतीमा खकुरेल पनि टाउको तन्काइरहेका हुन्थे ।

त्यो बेलादेखि भने उनलाई पनि नेपाली राष्ट्रिय टिमबाट खेल्न पाए हुन्थ्यो भन्ने लाग्यो । ‘मलाई उहाँहरुको खेल हेरेदेखि त्यसरी नै खेल्न पाए हुन्थ्यो । मानिसहरु हेर्न आउँथे भन्ने मोहले क्रिकेटतिर अझ लोभ्यायो । त्यसपछि कल्पना, सपना र भविष्य नै क्रिकेट बन्यो’, खकुरेल मकालु खबरसँग क्रिकेटतिरकाे झुकाव समय स्मरण गरे ।

क्रिकेटको कल्पनामा डुबेर क्रिकेटकै सपना देख्न थालेपछि भने उनी देशभित्र हुने खेलमा भाग लिन थाले । साथीभाइले पनि उनको सपनामा मलजल गर्न सहयोग गरे । रमाइलोका लागि क्रिकेट खेल्ने थलो बनेको टुँडिखेल अब अभ्यास ग्राउण्ड बन्यो । त्यही ग्राउण्डबाट प्लस टुपछि क्रिकेटमै लाग्ने अठाेट लिए सुवासले । नेपालबाट खेल्ने सपना पनि पुरा गरिछाेडे ।

क्लब र कलेजकाे टिममा राम्रो गर्न थाले । हरेक सेलेक्सनमा अटाए । खेलमा समय धेरै दिनुपर्ने भएपछि उनले पढाइमा भने साेचेअनुरूप समय दिन भ्याएनन् । ग्रामीण विकाश विषयमा स्नातकाेत्तर भर्ना त भए तर खेलका कारण पढाइ र परीक्षा छुट्याे, त्यो सपना त्यहीँ तुहियो ।

घरेलु हुँदै राष्ट्रिय टिममा प्रवेश

१७ बर्षमूनिकाे टिमदेखि क्रिकेट खेल्न सुरू गरेका सुवास राष्ट्रिय टिममा २०६४ सालबाट जाेडिएका हुन् । सुरुवाती खेलमा सोचेजस्तो प्रगती नभएपछि केही उत्साह मरेको थियो । ‘खेलमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि निराश हुन्थेँ । उत्साहसँगै डरले क्रिकेट नै त्यागिदिन्छु भन्ने सोच पनि आएको थियो । तर आफूलाई सम्हाल्थेँ अनि फेरि निरन्तरता दिन्थेँ’, उनले भने ।

ब्याटिङको पालो पनि नआइदिए हुन्थ्यो भन्दै बसेका उनको ७/८ जनापछि पालो आइहाल्यो । डरकै कारण सेकेन्ड बलमै आउट भए ।

सिनियर टिमबाट पहिलोपटक भाग लिँदा उनी एकदमै अतालिएका थिए । सधैँ ओपनिङ गर्ने उनले काठमाडौंको टिमबाट त्यो अवसर पाएनन्, किनकी उनीभन्दा धेरै पोख्त क्रिकेटर थिए टिममा ।

ब्याटिङको पालो पनि नआइदिए हुन्थ्यो भन्दै बसेका उनको ७/८ जनापछि पालो आइहाल्यो । डरकै कारण सेकेन्ड बलमै आउट भए । पालो नआइदियोस् भन्दा भन्दै आएको त्याे पालोले क्रिकेटमा खुड्किलो चढाइदियो ।

घरेलु क्रिकेटमा खासै ठुलाे नगद पुरस्कार राशि थिएन त्यो समय । ‘मैले थाहा पाए अनुसार २००८ तिर वीरगञ्जमा भएको खेलमा पहिलो पटक ५० हजार नगद पुरस्कार राखिएको थियो । हामी निकै उत्साहित थियौँ, जित्यौँ पनि । भागमा ३ हजार परेको थियो, बाटोमै सकियो’, सुवास सुनाउँछन् । नेपालबाहिर पहिलो पटक खेल्न गएका बेला प्राप्त नगद भने उनले परिवारका लागि उपहार किन्नमा खर्च गरेका थिए ।

उनले सिनियर टिममा डेब्यु गर्दाकाे सुरूवाती खेलमा पनि साेचे अनुरूप प्रदर्शन गर्न सकेनन् । ‘त्यति ठुलाे भीड मैले कहिल्यै देखेको थिइनँ । त्यो भीडको आवाजले मलाई अत्यायो । भीडले छक्का हान भने म छक्का हान्नतिर लाग्थेँ । चौका भने चौका हान्नतिर लाग्थेँ । त्यसैले त्यो खेल पनि बिग्रियो’, उनले सम्झिए ।

बिग्रिएको त्यो खेलबाट हरेश खाएनन् सुवासले, गतिलाे पाठ सिके – ‘वास्तवमा भीडको होइन, आफ्नो मनको सुन्नुपर्ने रहेछ । त्यतिबेला मेराे प्रदर्शन फितलाे भएपनि कसैले गाली गर्नुभएन, उत्प्रेरित गर्नुभयो, यसले राहत र पाठ दुवै मिल्यो ।’

रिग्रेट

सन् २००८/०९ तिर यू-१५ टिमबाट खेलेपछि  यू-१७, यू-१९ क्रमैसँग खेल्न पाउने नियम थियो । भर्खरै क्रिकेटले उचाई लिँदै थियो, नयाँलाई झट्ट विश्वास गरिहाल्ने वातावरण पनि थिएन ।

सुवासले यू-१५ र यू १९ खेलेका थिएनन् । यू-२० मा पनि नपरेपछि भने सिनियर टिममा पर्ने आशै मारे र विदेश जाने, पढ्ने अनि उतै सेटल हुने योजना बनाए सुवासले । रोचक त के थियो भने, जबजब उनलाई सपना सकिएको भान हुन्थ्यो, तब अवसरले नयाँ उचाई लिन्थ्यो । यू-२० साफ च्याम्पियनमा त्यस्तै कहानी दोहोरियो ।

छोड्ने, खेल्ने क्रम जारी थियो उनकाे । यू-२० मा ३० जनाको क्याम्प बोलाइएको थियो । सुवास छनाेट भएनन् । त्यतिबेला मस्तिष्कले क्रिकेट त्याग् भनेपनि मन भने मानिरहेको थिएन । नमानेको मनलाई विदेशमा सेटल हुने योजना सुनाएर थुम्थुम्याइरहेका थिए । त्यसै सिलसिलामा उनी साथीभाइसँग एक कन्सल्टेन्सीमा पुगे । उनले मोबाइल बोकेका थिएनन्, साथीको मोबाइलमा नेपाल क्रिकेट संघ क्यानबाट फोन आएछ र भनिएछ– ‘सुवासलाई पठाइदिनु ।’

फोन आएपछि उनी कन्सल्टेन्सीको काम थाँती राखेर होटलतिर बतासिए । उनले त्यो खेलमा सोचेभन्दा राम्रो गरे र त्यसैले राष्ट्रिय टिममा प्रवेशकाे बाटाे खुलायाे ।

|क्रिकेटर सुवास खकुरेल। तस्वीरः मकालु खबर|

लक्ष्य भेटेपछि भने लगभग खरानी भइसकेको सपनाले क्रिकेट दुनियाँमा फेरि बलियो सपनाको महल ठड्यायो । ‘अधिकांश खेलमा  खेल्दिन भनेर सपना मारिसकेपछि छनाेटमा पर्थेँ’, उनले भने ।

सुवासलाई अझैपनि बेलाबखत ‘व्यर्थै क्रिकेटमा लागेछु’ जस्ताे नलाग्ने हाेइन । पढाइ छुट्यो । बाहिर लिग खेल्न पाएनन् । बारम्बारको चोट उस्तै । ‘इन्जुरीका कारण टिमबाट आउट हुँदा, खेलहरु गुमाउनु पर्दा र त्यही खेल टिभीका पर्दाबाट नियाल्नु पर्दा खेलाडीलाई कहिलेकाहीँ आफ्नो पेसाप्रति पछुतो लाग्ने रहेछ’, उनी अनुभवी सुनिए ।

तर, एक/दुई घण्टा पछुतो लागिहाले पनि यसबाट प्राप्त उपलब्धिले अगाडी बढ्न ऊर्जा थप्ने उनकाे अनुभव छ, भन्छन्– ‘अहिलेसम्म नाम, दाम, इज्जत जे-जति पाएको छु, सबै क्रिकेटले दिएको हो । फ्रस्टेड भइहालेँ भने पनि आम नेपालीको अथाह प्रेम सम्झिँदा सान्त्वना मिल्छ र पछुतो स्वतः बिलाएर जान्छ ।’

एकपटक खेलका लागि अष्ट्रेलिया पुग्दा परिवारले उतै सेटल हुन सुझाएका थिए उनलाई । साथीभाइ र आफन्तले सेटल हुन सहयोग गरिदिने भनेका थिए। तर ती सुझाव लत्याएर उनी नेपाल फर्किए । ‘मलाई क्रिकेटले त्यहाँसम्म पुर्याएको थियो, क्रिकेटलाई नै छोडेर म बाहिर बस्न सक्दिनँ भन्ने महशुस भयो र नेपाल फर्किएँ ।’

भाग्यमानी सुवासलाई ‘अभागी’ को ट्याग

अरुलाई भाग्यमानी लागेपनि सुवास भने आफूलाई निकै अभागी मान्छन्, खासगरी क्रिकेट क्षेत्रमा – ‘म आफूलाई अभागी मान्छु । किनकी अवसर पाएर पनि धेरै खेल गुमाएको छु । बारम्बार हुने इन्जुरीले अवसरबाट बञ्चित गराउँदा दुःख लाग्छ ।’

भाग्यमा जे–जति लेखिएको छ, त्यति नै प्राप्त हुने उनको विश्वास छ । ‘भाग्यमा कुन समयमा के लेखेको हुन्छ, त्यही हुन्छ । सम्भावना कम हुँदाहुँदै सिनियर टिममा पर्नु पनि मेरो भाग्य थियो । धेरै घटना यस्तै भएको छ’, सुवास भन्छन्, ‘यसको मतलब कर्ममा विश्वास राख्दिन भन्ने होइन । म निकै मेहनती छु ।’

परिवारकाे चाहना सरकारी जागिर, खेलमा थिएन सहयाेग

बाल्यकालमा सुवास लजालु स्वभावका थिए । अध्ययनमा मध्यम । क्रिकेटको लत लागेपछि विद्यालयबाट फर्कने बित्तिकै खेल्न दौडिहाल्थे । आमाले भने पढ् भनेर सम्झाउँथिन् तर आँखा छलेर उनी खेल्न पुगिहाल्थे ।

त्यतिबेला धेरै अभिभावकले छोराछोरीको भविष्य खेलकुद क्षेत्रमा देख्न थालिसकेका थिएनन् । क्षणिक मनोरञ्जनका रुपमा खेल्न दिएपनि भविष्य नै त्यसमा बनाउन समर्थन गर्ने वातावरण बनेकाे थिएन । सन्तानलाई पढाइमै केन्द्रित हुन अह्राइन्थ्यो  ।

त्यसमाथि क्रिकेटका सामग्री महंगा थिए । बालबालिकाका लागि खेल सामग्री किन्न परिवारको आयले भ्याउँदैनथ्यो । ‘त्यो समय खेल क्षेत्र यतिमाथि पुग्ला भन्ने कसले सोचेको थियो र ? यसमा भविष्य नदेखेर परिवारले पढ मात्रै भन्नुहुन्थ्यो । क्रिकेट खेल्दा लुगा फोहोर हुन्थ्यो, ममीले कराउनुहुन्थ्यो’, उनले सम्झिए, ‘ क्रिकेटले के दिन्छ ? पढेर राम्रो काम गर्नुपर्छ भन्नुहुन्थ्यो ।’

हजुरआमाको भने अझै गुनासाे उस्तै छ- ‘चोट लागेर लामो समय घरमा बिताउँदा हजुरआमाले यस्तो खेल्नुको साटो कुर्सीमा बस्ने, सरकारी जागिर खाएको भए हुन्थ्यो भन्नुहुन्छ । तर क्रिकेटबाट मैले के कति पाएँ त्यो उहाँलाई थाहा छैन, ती कुराहरू मैले मात्रै महसुस गर्न सक्छु ।’

बुवा–आमाले भने पछिल्लो समय सपोर्ट गर्न थालेका छन् – ‘आफूले छानेको क्षेत्रमा राम्रो गर भन्नुहुन्छ अहिले । उहाँहरुको चाहना पुरा गर्न नसकेपनि खेलाडीको परिवार भनेर उहाँहरुलाई पनि सम्मान दिँदा सन्तुष्टि मिल्छ’, सुवास भन्छन् ।

सुखद्, दुःखद् क्षणसँगै हात पारेका सफलता

हुन त खेलाडीलाई हरेक खेल महत्वपूर्ण हुन्छन् । तैपनि केही अझ विशेष हुन्छन् । उनको नजरमा सम्झन लायकको खेल भनेको २०१३ को विश्वकप छनाेट प्रतियाेगिता । यूएईमा भएको खेलमा हङकङलाई जितेर नेपाल क्लालिफायरमा पुगेको थियो – ‘त्यो गेमको भिडियो अहिले हेरेँ भने पनि शरीरमा काँडा उम्रन्छ । त्यो भिडियोमा जितकोे इमोशन छ । छुट्टै आनन्द मिल्छ त्यो गेम सम्झिँदा । नेपाली क्रिकेट क्षेत्रलाई मिलेको ठुलो सफलता थियो त्यो, जसमार्फत् नेपाललाई विश्वले चिन्यो ।’

सुवासका स्मृतिका पानामा दुःखद् क्षणहरु पनि थुप्रै कुँदिएका छन् ।

उनले राष्ट्रिय टिमबाट खेल्न सुरु गर्दा नेपाल डिभिजन पाँचमा थियो । नेपालले एउटा मात्रै म्याच हार्यो भने झन् तल्लो तहमा पुग्ने सम्भावना थियो । २०१४ मा एकदिवसीय मान्यता पाउने आत्मविश्वासका साथ वर्ल्डकप क्वालिफायरका लागि नेपाली टिम न्युजिल्यान्ड गएकाे थियाे । तर साेचेजस्ताे भएन । सुवास खेल अघि नै बिरामी भए। ‘ज्ञानेन्द्र र पासरलाई पनि इन्जुरी भयो’, उनले त्यो क्षण सम्झिँदै भने, ‘हामीले त्यतिबेला एउटा पनि म्याच जितेनौँ । हाम्राे सपना चकनाचुर भएकाे थियाे ।’

‘अहिले पनि हामी त्यो गेमको जर्सी लगाउँदैनौँ । किनकी त्यसले, त्यो दुःखद् क्षणको सम्झना दिन्छ । हामीले वर्ल्डकपमा सहभागी हुन पाएनौँ, डिभिजन २ बाट ३ मा झर्यौँ, नेपाली क्रिकेटलाई दुई वर्ष पछाडि धकेल्याे त्याे खेलले’, उनी थप्छन्, ‘सम्झिँदा मात्र पनि पीडा हुन्छ ।’

विदेशमा गएर पनि इन्जुरीका कारण खेलमा सहभागी हुन नपाउँदा दुःख लाग्ने उनी बताउँछन् । ‘न्युजिल्याण्डमा भएको खेल गुमाउँदा आफू सहभागी भएको भए जित्थ्यौँ कि भन्ने लाग्ने नै भयाे । एकदिवसीय मान्यता पाउने बेलाको खेलमा पनि इन्जुरीका कारण सहभागी हुन पाइनँ, त्यो इमोशन प्रत्यक्ष साट्न नपाउँदा निकै दुःखी भएको थिएँ ।’

तीन वर्षपछिकाे पुनरागमन

सुवास तीन वर्ष क्रिकेटबाट हराउँदा उनी यो क्षेत्रमा अब नफर्कने अर्थात् उनकाे पुनरागमन नहुने अड्कलबाजी भएका थिए । यद्यपि उनी रिकभर भएर मैदानमा फर्किएपछि भने उनी र प्रशंसक दुवै खुशी छन् 

‘२०१६ मा खेलेँ । २०१७ को जुलाईमा इन्जुरी भयो । फेरि एकवर्ष खेलिनँ । २०१८ मा खेलेँ । फेरि त्यसबेला पनि इन्जुरी भयो । त्यसपछि अस्ती खेलेँ । सन् २०१७ देखि २०२० सम्मका खेल लगातारको इन्जुरीका कारण गुमाएँ’, निराश सुनिए सुवास ।

चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेटबाट कमब्याक गरेपछि भने उनी खुशी छन्, तर सोचेजति प्रदर्शन गर्न भने नसकेको उनलाई अनुभुति हुन्छ, भन्छन्– ‘इन्जुरी भएर कमब्याक गर्नु ठुलो कुरा हो । कमब्याक सुखद् नै भयो भन्नुपर्छ । मैले त घाउ निकाे हुन्न होला भनेर क्रिकेटको माया मारिसकेको थिएँ तर चिकित्सकको सहयोगले कम्ब्याक गर्न सफल भएँ, खुशी छु ।’

क्रिकेटरको नजरमा नेपाली क्रिकेट : यी हुन सक्छन् सुधारका विकल्प

लगानी र कार्यायाेजना अभावका कारण नेपाली खेलकुद क्षेत्र पछाडि परेकाे सुवासकाे बुझाइ छ । भन्छन्- ‘हाम्रो देशमा एउटा राम्रो क्रिकेट स्टेडियमसम्म छैन । खेल तथा अभ्यासका लागि उचित मैदान छैनन् । खेलका लागि उचित संरचना बनाउन ध्यान नदिनु, लगानी नै नगर्नु खेल क्षेत्र पछाडी पर्नुकाे मुख्य कारण हाे ।’

सरकार र सम्बन्धित संस्थाहरु, क्यान, एन्फा लगायतले खेल क्षेत्रमा प्रशस्त लगानी गर्न आवश्यक रहेकाे उनी बताउँछन् । कम्तिमा १०/१५ वर्ष खेलेर खेलाडीको जीवन सुनिश्चित हुने वातावरण बनाउन सके मात्रै खेल क्षेत्रमा नयाँ पुस्ताको आकर्षण तथा प्रतिस्पर्धा बढ्ने र सक्षम खेलाडी उत्पादन गर्न सकिने उनकाे भनाइ छ ।

‘मभन्दा धेरै सिनियर खेलाडीले १०/१५ वर्ष खेल्नुभयो । कतिलाई त नयाँ प्लेयरले चिन्दैनन् पनि । यो अवस्था आउनु पनि खेल क्षेत्र पछाडि पर्नु नै हो । क्यानले लगानी गर्नुपर्छ, सरकारले यसलाई कसरी ग्लोबलाइज गर्ने सोच्नुपर्छ । धेरै देशमा अन्तर्राष्ट्रिय लिग हुन्छ, त्यस्ता लिगमा नेपालले पनि सहभागिता जनाउन, तथा नेपालमा पनि त्यस्ता प्रतियाेगिता गर्न जरुरी छ,’ उनले भने ।

‘यसो गर्दा बाहिरका धेरै खेलाडी नेपाल आउँछन् । लगानी भित्रिन्छ । यसले आर्थिक रुपमा नेपाललाई सबल बनाउन मद्दत पुग्छ । यी कुरा एकदमै योजनाबद्ध तरिकाले अघि बढे नेपाल अन्तर्राष्ट्रिय लेभलमा पुग्छ’, सुवासकाे निष्कर्ष छ ।

नयाँ पुस्तालाई सुझाव

नेपाली खेलकुद क्षेत्र अझैपनि पूर्ण रूपमा व्यावसायिक बनिसकेकाे छैन भन्ने स्वीकार्दै अध्ययनलाई पहिलाे प्राथमिकतामा राख्न खेलाडीलाई सुझाउँछन् सुवास । केही अपवाद बाहेक, खेलाडीलाई खेलबाटै जिविका चलाउन अझै पनि गाह्राे रहेकाले खेलाडीले खेल र पढाइलाई सँगै अघि बढाउनुपर्ने उनको बुझाइ छ ।

‘कष्टकर अवस्थाबाट कसरी उम्कने भन्ने विकल्प शिक्षाले दिन्छ- क्रिकेटमै पनि । अहिलेकै अवस्थालाई हेरौँ न, कोरोना महामारीमा खेलहरु प्राय: बन्द छन् । हाम्रो तलब पनि रोकिइरहेको छ । यो खाली समयलाई कसरी सदुपयोग गर्ने भनेर मैले व्यवसायमा हात हालेको छु भर्खरै’, उनी भन्छन्, ‘नेपालका धेरै प्लेयरहरुको सरकारी जागिर छ कोही पुलिस, आर्मीमा हुनुहुन्छ । कतिको छुट्टै व्यवसाय पनि छ । त्यसैले त्यति गाह्रो छैन । तर क्रिकेटबाटै जीवन धान्ने अवस्था चाहीँ अझै पनि बनेको छैन ।’

खेल जीवनबाट बिदा हुनुपर्ने अवस्था सोचेरै भने पनि अध्ययनलाई प्राथमिकता दिनुपर्ने उनी बताउँछन् । ‘क्रिकेटमा सक्रिय रहन सकुन्जेल गाह्रो नहोला तर खेल जीवन सकिएपछिको विकल्प के छ ? यदि पढाइको योग्यता पुग्यो भने क्यानमा पनि धेरै पोष्टहरु खाली हुन्छन्, त्यहाँ प्रतिस्पर्धा गर्न सकिन्छ’, उनको सुझाव छ ।

क्रिकेट क्षेत्र अहिले अगाडी बढेको भन्दै उनले मन लगाएर खेल्न, डाइटमा ध्यान दिन पनि सुझाव दिए । उनले भने, ‘अहिलेदेखि नै डाइटको ख्याल गर्नुस्, फलो गर्नुस् । अहिलेदेखि नै डाइट मिलाएमा इन्जुरीबाट केही हदसम्म बच्न सकिन्छ, लामो समयसम्म खेल्न सकिन्छ । प्रोटिनयुक्त खाना खानुपर्छ । पर्याप्त अभ्यास गर्दा स्वास्थय पनि राम्रो हुन्छ ।’

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com