सभामुखले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ । राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार दायर रिटमाथि आज सुनुवाइ हुने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ । रिटमा संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुख सहित ३२ जना सबैलाई विपक्षी बनाइएको हो ।
बुधबार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा अध्यक्ष र पदाधिकारी नियुक्त गरेकी थिइन् । पद तथा गोपनियताको सपथ लिएसँगै संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुले पदभारसमेत ग्रहण गरिसकेका छन् ।








