‘ढुक्क हुनुहोस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ’ : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् ।पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् ।

“निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”,  उनले भने,  “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।”

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहेका पौडेलले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताए ।

मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पारे । “केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्”, उनले भने, “निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ भने लोकतन्त्र भनेको के हो ? भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।” उनले मुलुकमा कुनै समस्या प-यो र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गरे ।

प्रतिक्रिया