प्रदर्शनमा सहभागीहरुसँग देउवा खुशी
काठमाडौँ । प्रमख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्धको प्रदर्शनमा सहभागीहरुलाई धन्यवाद दिएको हो । कांग्रेसले शनिबार आफ्नो भातृ संगठनहरुले देशैभर गरेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै खुशी व्यक्त गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार साँझ विज्ञप्ति जारी गरी आफ्नो शुभेक्षुक संघ–संघठनप्रति खुशी व्यक्त गरेका हुन् । प्रतिनिधि सभा विघटन अप्रजातान्त्रिक भएको औंल्याउँदै सभापति देउवाले विज्ञप्तिमार्फत् भनेका छन् ‘शनिबारको प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एमव् मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ ।’
यसैबीच सभापति देउवाले आगामी ३ फागुनको लागि तय भएको प्रदर्शनमा पनि सक्रिय सहभागिता जनाउन अनुरोध गरेका छन् । कांग्रेसले संसद् विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको छ । उसले ७७ वटै जिल्ला, १६५ वटै निर्वाचन क्षेत्रसँगै वडास्तरसम्म प्रदर्शन गरिसकेको छ ।








