रेखा थापाका चलचित्र मन पराउँछन् क्रिकेटर खकुरेल

  • दिक्षा कट्टेल

काठमाडौंँ । नेपालका दायाँ हाते ब्याट्सम्यान तथा विकेट किपर सुवास खकुरेल पछिल्लो समय क्रिकेटसँगै व्यवसायतर्फ तानिएका छन् । उनले ललितपुरको च्यासलमा ‘बाजेको मःमः’ नामकाे रेष्टुरेण्ट खोलेका छन् । तर आज भने हामी उनको क्रिकेट र रेष्टुरेण्ट व्यवसायभन्दा फरक मनोरञ्जन विषयमा कुराकानी गर्दैछाैँ । 

सुवास, किशोरावस्थामा सुगम पोखरेलको ठूलो प्रशंसक रहेछन् । एसएलसी दिएपश्चात् सुगमको  गीति एल्बम ‘वान एमबी’ का गीतहरु धेरै नै सुन्ने गरेकाे उनी सम्झिन्छन् । ‘त्यो बेलाको क्रेज नै फरक थियो, परीक्षा सकेर म गाउँ गएको थिएँ, सुगमको एल्बम बोकेर दिनमै १० पटक बढी पनि सुन्थेँ ।’ अहिले भने गीतसंगीत खोजेर नै चाहिँ नहेर्ने बताए । कसैले सिफारिस गरेको गीत भने सुन्ने उनकाे भनाइ छ।

चलचित्रको कुरा गर्दा भने सुवास उत्साहित देखिए । लकडाउनको समयमा उनले धेरै चलचित्र हेरेछन् । युट्युबमा मात्रै नभएर हलसम्म पुगेरै नेपाली चलचित्र हेर्ने गरेका छन्, उनले । धेरै पटक ‘खराब’ चलचित्र देखाउन ल्याएको भनेर साथीभाइबाट गालीसम्म खाएकाे पनि सुवासले सुनाए ।

नेपाली चलचित्रको नाम लिनासाथ रेखा थापा र निखिल उप्रेतीको नाम सम्झिए । रेखा र निखिलको एक्सन चलचित्र उनलाई मनपर्ने रहेछ । पछिल्लो समय रेखाले बनाउने ‘समसामयिक’ विषयका चलचित्र नेपाली समाजमा जरुरी रहेको सुवास ठान्छन् । उनले दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ हेरेर नेपाली चलचित्र क्षेत्रमा पनि फरक धारको चलचित्र बन्न थालेको अनुभूत गरेको  पनि मकालु खबरलाई बताए ।

उनले आफूले आफूलाई फ्रेस राख्न चलचित्रबाहेक घुम्न जान रुचाउने भनेका छन् । ‘समय हुनासाथ मलाई कतै निस्किहाल्नपर्ने’ भन्ने उनी अहिले भने अलिक धेरै समय घरमा बिताउन थालेका छन् । कारण रहेछ, उनको भर्खरै जन्मिएको सन्तान । सन्तान हुनुको खुसीले समेत घरमा बाँध्ने उनी बताउँछन् ।

प्रतिक्रिया