फोर्ड र गुगलबीच रणनीतिक साझेदारी सम्झौता

काठमाडौं । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् ।

गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य गरेको हो ।

यसका लागि यी दुई कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह पनि बनाएका छन् । जसमा दुबै कम्पनीका प्रतीभाको प्रवद्र्धन, फोर्डको रुपान्तरणमा सहयोग, व्यक्तिगत उपभोक्ता सेवा, परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने, तथ्यांक सहजीकरण लगायतको आपसी सहयोग हुने विश्वास गरिएको छ । सवारीसाधन खरीद गर्दा र स्वामित्व हस्तान्तरणमा यसमा भएको तथ्यांकले सहयोग गर्नेछ ।

‘विद्युतीकरण, कनेक्टिभिटी र सेल्फ ड्राइभिङमा फोर्डले आमुल रुपान्तरण गरिरहेको अवस्थामा गुगल र फोर्ड सँगै आउनुले ग्राहकलाई विशिष्ट अनुभूति दिनुका साथै उद्यमलाई पनि आधुनिकीकरण गर्नेछ,’ फोर्डका सीईओ जिम फार्लीले बताए । ‘एसेम्बिलिङ उद्योगको सञ्चालनदेखि ड्राइभ एसिस्ट टेक्नोलोजीसम्म आइपुग्दा फोर्डले १२० वर्षको अटोमोबाइल क्षेत्रमा नयाँ अन्वेषणको जग बसालेको छ,’ अल्फाबेटको सञ्चालकसमेत रहेका गुगलका सीईओ सुन्दर पिचाईले बताए ।

उनका अनुसार फोर्डको व्यापारमा र अटोमोटिभ टेक्नोलोजीमा गुगलको एआई, तथ्यांक विश्लेषण र क्लाउड प्लेटफर्मले सेवाग्राहीलाई सुरक्षित बनाउनेछ । डिजिटल यातायात, आधुनिकीकरण तथा सवारीसाधनमा टेक्नोलोजीको प्रयोगका लागि कम्पनीलाई गुगलले गुगल क्लाउड, एआई, एमएल तथा तथ्यांक विश्लेषण लगायतका क्षेत्रमा सहयोग पु-याउने उनको विश्वास छ ।

गुगलसँगको सहकार्यपछि फोर्डको योजना

१. ग्राहकको विशिष्ट टेक्नोलोजी प्रयोगको तथा सेवामा सुधार भएको अनुभूति दिलाउने ।

२. उत्पादनको विकास, निर्माण तथा ‘सप्लाई चेन’ व्यवस्थापन र एआईको प्रयोगले कर्मचारी तालिम सिर्जना र उद्योगका इक्विपमेन्टको क्षमता बढाउने ।

३. सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा विश्वस्तरीय गुगल एप, गुगल म्याप तथा भ्वाइस टेक्नोलोजीसहितको एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने

४. गुगल एसिस्टेन्स जडान गर्ने ।

५. संगीत, पोडकास्ट, अडियोबुक लगायतको प्रयोगका लागि गुगल प्लेको व्यवस्था गर्ने

६. ‘थर्ड पार्टी डेभलपर’लाई एपको एक्सेस दिएर सेवाग्राहीको अनुभवलाई उत्कृष्ट बनाउने

फोर्ड विश्वमा अटोमोबाइल क्षेत्रमा प्रसिद्ध कम्पनी हो । यसले कार, ट्रक, एसयूभी, विद्युतीय सवारी र लिंकन ‘लक्जरी’ सवारीसाधनको उत्पादन गर्छ । यसले विश्वमा १ लाख ८७ हजार बढीलाई रोजगारी दिएको छ ।

 

प्रतिक्रिया