‘प्रधानमन्त्री अराजकताको नमूना हुन्’

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अराजकताको नमूना भएको आरोप लगाएका छन् ।

बुधबार जनसंगठनको कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँगको सवाल जवाफमा प्रवक्ता श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओली अराजकताको नमूना हुन्’, श्रेष्ठले भनेका छन्, ‘उनी गुटको नेता हुन् मात्रै हुन् । देशको होइन ।’

यस्तै प्रवक्ता श्रेष्ठले ओली समूहको २३ गतेको कार्यक्रमसँग आफ्नो समूहले घोषणा गरेको बिहीबारको आमहड्तालको कुनै सम्बन्ध नरहेको बताए । २३ गतेको कार्यक्रमलाई चुनौती दिनको लागि आमहड्ताल गर्नुभएको हो ? भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘त्यताको कार्यक्रमसँग हाम्रो कुनै सम्बन्ध छैन । कसरी गर्छन् उनीहरुको कुरा हो । तर, हामीले गर्ने आन्दोलन जहाँ पनि जहिले पनि शान्तिपूर्ण नै हुन्छन् ।’

आफूहरु बाध्य भएर आमहड्ताल गर्नुपरेको बताएका श्रेष्ठले केपी ओली सरकारले नीतिगत रुपमा काम नगरेको पनि बताए । ‘केपी ओलीले नीतिगत निरन्तरतालाई कुनै पनि हिसाबले ख्याल गर्दैनन्’, श्रेष्ठले भनेका छन्, ‘उनी सधैं तत्कालको लागि के गर्दा राम्रो हुन्छ, त्यही गर्ने खालका हुन् ।’

आफूहरुको आन्दोलन सिर्फ लोकतन्त्रलाई सुदृढ बनाउनेसँग सम्बन्धित रहेको पनि प्रवक्ता श्रेष्ठको जिकिर छ । ‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण त भइहाल्छ’, श्रेष्ठले भनेका छन्, ‘हाम्रो मिसन सधैं लोकतन्त्र सुदृढतर्फ हुन्छ ।’

यो समूहले बिहीबार (भोलि)का लागि आमहड्तालको घोषणा गरेको छ । बुधबार बिहान संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएपछि थप बिच्किएको यो समूहले संवैधानिक परिषद्सम्बन्धीको अध्यादेश नै अप्रजातान्त्रिक भएको बताउँदै आएको थियो ।

प्रतिक्रिया