संवैधानिक निकायका पदाधिकारीहरुको शपथ– ‘निरङ्कुशताको अभ्यास’

  • धनबल राई

काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुले बुधबार बिहान शपथ ग्रहण गरेका छन् । उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ ग्रहण गराए भने विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रहण गराए ।

त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ ग्रहण गराए । संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् ।

शपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।

निरङ्कुशताको अभ्यास
यता नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह भने यो शपथसँग असन्तुष्ट छ ।

यो समूहले शपथलाई निरङ्कुशताको अभ्यास भनेको छ । ‘संविधानले व्यवस्था गरेको कुरा संसद्बाट संसदीय सुनुवाइ समितिले सिफारिस नगरेसम्म नियुक्ति नहुने व्यवस्था अनिवार्य सुनुवाइ समितिमा गर्नेपर्ने भन्ने छ । अनि अर्को कुरा सुनुवाइ समितिमा प्रवेश गरेको ४५ दिनभित्र पनि त्यसबारे टुंगो लाग्न सकेन भने मात्रै स्वतः नियुक्ति हुने व्यवस्था छ’, नेता लीलामणि पोखरेलले मकालु खबरसँग भनेका छन्, ‘त्यसो हुँदा संसद् विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक काम गरे । संवैधानिक निकायमा पदाधिकारीहरुको नियुक्त गर्ने विषयमा अध्यादेश ल्याएर पनि संविधान मिच्ने काम गरे । त्यसपछि ती पदाधिकारीलाई नियुक्तिको बेलामा पनि संविधानलाई मिच्ने काम नै गरे । यो चाहिँ निरङ्कुशताको अभ्यास हो ।’

प्रतिक्रिया