आज ‘रातो प्रतिगमन’विरूद्ध देशभरि प्रदर्शन

काठमाडौंँ । नेपाली कांग्रेसका भातृ संस्थाहरूले सबै जिल्लामा प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको हो ।

विरोध प्रदर्शनमा सहभागिता जनाउन प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गरेका छन् । उनले ट्वीट गर्दै ‘रातो’ प्रतिगमनविरूद्ध हुने प्रदर्शनमा सहभागिताका लागि आग्रह गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई ‘कालो’ प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई ‘रातो’ प्रतिगमन भएको उनको टिप्पणी छ ।

उनले लेखेका छन्, ‘त्यो `माघ १९´/यो `माघ १९´। त्यो कालो प्रतिगमन भएको दिन,यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन । रंग प्रतिगमनको जुन भएपनि ढंग उही । अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उहीँ ।
आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बनौँ । जय नेपाल !’

प्रतिक्रिया