…कात्रो लिन जाँदा परिचय पत्र नमागियोस् है सरकार !

  • दिक्षा कट्टेल

काठमाडौं । भारी बोकेर गुजारा चलाउँदै आएका सूर्यबहादुर तामाङ जेष्ठ ११ गते आइतबार कीर्तिपुरको सडक पेटीमा ज्यान गुमाए । कारण बन्यो कोरोनाको सम्भावित जोखिम कम गर्न देशव्यापी रुपमा गरिएको बन्दाबन्दी । देशै ठप्प भएपछि सूर्यबहादुरको गुजाराको बाटो मेटियो । काम नपाएपछि पेट भोकै रह्यो । पेट भोकै भएपछि कतिन्जेल बाँच्न सकिन्थ्याे र ?
पोस्टमार्टमको रिपोर्ट आयो । कुनै शारीरिक समस्या नदेखिएपछि ज्यान जानुको कारण बन्यो ‘भोक’ ।

हातमा पुरानो नाम्लो, शरीरमा मयल कटकटिएको रातो ज्याकेट, घुँडासम्म दोबारिएको सुरुवालसहितकाे उनकाे शव देख्ने हरकाेहीका आँखा रसाए । सरकारकाे ध्यानाकर्षण पनि गराइयाे ।
कवि सुरज काफ्लेले याे घटनालाई सहज रूपमा स्वीकार्न सकेनन् । शब्दमा उतारेर वाचनका लागि सरोज खनाललाई पठाए ।  सूर्यबहादुरको  भाेगाइ सुरजका लागि एउटा चलचित्र झैँ भयो । चलचित्र बन्ने नै भएपछि सुरजको सरोजले नै अभिनय गर्नुपर्ने मागलाई नकार्दै उनले आफ्नै गुरु ‘सुनिल पोखरेल’लाई आग्रह गरे ।

चलचित्रमा खेल्नै नमान्ने सुनिलको पहिलो जवाफ ‘गर्दिनँ’ भन्ने नै थियो । तर जब उनले कविता पढे, उनी अभिनयका लागि तयार भए । अनि बन्ने भयो सूर्यबहादुर तामाङको मृत्युमा आधारित छोटो चलचित्र ‘बिहानीमै अस्ताएको सूर्य‘ ।
एउटा सानो स्टेसनरी पसल चलाउने काफ्लेले चलचित्रमा ठूलो लगानी गर्ने अवस्था थिएन । तर, उनको कवितामा यति दम थियो कि, यस विषयलाई ‘आ… होस् ! नगरौँ’ भन्ने स्थिति पनि भएन । त्यसैले यो ११ मिनेटको छोटो चलचित्रका लागि सबैले निःशुल्क काम गर्ने अठोट गरे ।
छायाकंनको किस्सा सम्झिँदै सुनिल भन्छन् ,’चार घण्टा ढुङ्गामा सुताए । ढाड दुखेर झन्डै मरेँ ।’ उनलाई चलचित्रमा अभिनय गर्न  सरोजसँगको सम्बन्धले मात्र हाेइन कविता मन परेको कारण पनि हाे ।
याे छाेटाे चलचित्र शनिबार सिडीसी सिनेमाजमा प्रदर्शन गरियाे । जम्मा ११ मिनेटको चलचित्रको प्रभाव मान्नुपर्छ करिब १५ मिनेटसम्मै हलमा सन्नाटा छाएको थियो ।
सुरजको लेखन, सरोजको निर्देशन, सुनिलको अभिनयमा छायाकंनदेखि  शृङ्गारसम्म यस्तो कुनै पाटो छैन, जसले केही दिनसम्म दिमागमा कब्जा जमाउन नसकोस् । सूर्यबहादुरको साहु, कात्रोको सम्बन्धदेखि प्रधानमन्त्रीको भाषणसम्मको ‘कनेक्सन’ को मिठासको बयान शब्दमा गर्न सकिँदैन ।
केही दिनमा नै युट्यबमार्फत सार्वजनिक गरिने छोटो चलचित्रलाई सरोज खनालको बलियो ‘कम ब्याक’ हुने आशा गर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=hOeXMr1nQes
प्रतिक्रिया