प्रचण्ड-नेपाल समूहले बुटवलमा विरोध सभा गर्दै

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव नेपाल समूहले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो ।

दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने तय भएको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र प्रतिगामी भएकाले यसविरुद्ध एकजुट हुन सो समूहले आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्कोको चर्को आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया