खुँडा प्रहार गरी तरुण दलका कार्यकर्ताको हत्या

काठमाडौँ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो ।

सोही गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

सिंहमाथि खुँडा प्रहार गर्ने मध्येका एक सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायतलामई पक्राउ गरिएको छ । घटनामा संलग्न अर्का प्रकाश ऐडी भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरी प्रमुख खड्काले बताए । हत्यामा प्रयोग भएको खुँडा बरामद गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस र नेकपा निकट दुई प्यानल चुनावी मैदानमा थिए । कांग्रेस निकट लोकेन्द्र बोहरा निर्वाचित भएका थिए । बोहरासँग नेकपा निकट गजेन्द्र धामी पराजित भएका थिए । हत्या गरिएका सिंह कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलका कार्यकर्ता हुन् ।

प्रतिक्रिया