गोठी गाउँमा आगलागी हुँदा ३० घर जलेर नष्ट

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका-७ जुम्ला पोखरीस्थित गोठी गाउँमा आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । मंगलबार बेलुका सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घाँसमा सल्केको आगो गाउँभरि फैलिएपछि ३० घर जलेर पूर्णरूपमा नष्ट भएका हुन् ।

आगलागीबारे खबर पाउने बित्तिकै तिला-१ रारालिही प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भुपेन्द्रबहादुर शाहीको नेतृत्वमा तीन र कुडारी प्रहरी चौकीका प्रहरी जवान नरेन्द्र देउवासहित तीन गरी ६ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

पछि सदरमुकाम जुम्लाबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा १५, सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद शर्माको नेतृत्वमा ११ गरी २६ प्रहरीको जनशक्ति घटना स्थालमा पुगेको थियो । आगलागी राती नै नियन्त्रमा आएपनि क्षतिको विवरण संकलन गर्ने तयारी भइरहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए ।

उनका अनुसार गाउँमा एउटा मात्र खानेपानीको धारा भएको र विकट भूगोलका कारण पनि ठूलो क्षति हुनसक्छ । आगलागीबाट मानविय कुनै मानविय क्षति नभएको पनि सहायक प्रजिअ चौलागाइले जानकारी दिए । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।

प्रतिक्रिया