वडाध्यक्ष कटवालद्वारा नागरिकता काण्डमा आफूलाई फसाएको दाबी

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । स्याङजाकी मञ्जु क्षेत्रीले अर्घाखाँचीका गोपाल सेजुवालको छोरी बनेर धरानबाट नागरिकता झिकेकाे प्रकरणबारे बाेल्दै वडाध्यक्षले आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् ।

आज मंगलबार वडा नं ९ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष रत्न कटुवालले आफूले कागज प्रमाणको आधारमा सिफारिश गरेको दाबी गरेका छन् ।

स्याङ्जाकी एक महिलालाई झुटो विवरणको आधारमा दोहोरो नागरिकताका लागि सिफारिश गरीदिएको आरोपमा मुद्दा खेपिरहेका वडाध्यक्ष कटवालले आफूसँग रिसिइबी साँध्न यस्तो हर्कत गरेको बताए । मन्जु सेजवाललाई सम्पुर्ण सक्कल कागजातको आधारमा सिफारिश गरेको भन्दै उनले आफू दोषी भए बसाईं सराई, नाता प्रमाणित गर्ने वडा नं. ३ र त्यसको आधारमा नागरिकता वितरण गर्ने इलाका प्रशासन कार्यालयका कर्मचारीलाई समेत कारवाही गर्नुपर्ने स्पष्ट पारे ।

कटवालले प्रहरी प्रशासन तथा केही राजनीतिक दलको समेत पूर्वाग्रहका कारण आफू र वडा सचिवलाई मात्र फसाउने नियतले प्रहरीले मुद्दा दायर गरेको भन्दै असन्तुष्टि जाहेर गरे ।  समेत प्रकट गरेका छन् ।

स्वास्थ्य र घरायसी कारणले आफू गएको पुष १४ गतेदेखि नै बिदामा बसेको तर पुष २३ गते मिडियाहरुमा पुर्जी जारी भएर अध्यक्ष फरार भन्ने समाचार आएकोप्रति आपत्ति जनाउँदै उनले आफूले प्रहरीले पक्राउ पुर्जीको अनुमति मागेपनि अदालतबाट  आदेश भएको पत्र आफूले नपाएकोले चरित्र हत्या हुने गरि प्रहरीले नै नियोजित तरीकाले समाचारहरु प्रकाशन गर्न लगाएको  आरोप लगाए ।

अध्यक्ष कटवालले वि.सं. २०७५ माघ माघ ८ गते आवश्यक कागजातसहित मञ्जु सेजुवाल र उनको बुबा भनिने गोपाल सेजुवालले नागरिकताको सिफारिश माग गर्दै निवेदन दिएको र सोही आधारमा आफूले पनि सिफारीस गरेको उनले बताए ।

उनले उक्त निवेदनमा उनीहरुले बि.स. २०७४ बैशाख ६ गते अर्घाखाचीबाट धरानको वडा नं ३ मा बसाईँसराई गरि आएको कागजात राखेको, बैशाख १९ गते वडा नं ३ ले नै केशव सेजुवाल र गोपाल सेजुवाल बुवा छोराको नाता प्रमाणित गरेको कागजात पनि नागरिकतामा राखेको पनि अध्यक्ष कटवालले जानकारी दिए ।

बसाईँ सराईमा मञ्जुको नाता प्रमाणित, जन्म मिति भएको आधारमा २०७५ माघ ८ गते वडा नं ९ बाट जन्मदर्ता गरिएको उनकाे भनाइ छ । साथै उनले नागरिकता बनिसकेपछि मञ्जुले फोटोकपी ल्याएकाले आफूले बसोबास र बाउ, छोरीको नाता प्रमाणित गरिदिएको बताए ।

मन्जु क्षेत्री गएको पुष पहिलो साता स्याङ्जामा पक्राउ परेपछि स्याङ्जा प्रहरीले थप कारबाहीको लागि उनलाई धरान पठाएको थियो भने सोही प्रकरणमा वडा नं ९ का अध्यक्ष कटवाल, वडा सचिव रञ्जु भुजेल पनि अनुसन्धानमा तानिएका थिए ।

प्रतिक्रिया