प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाका दुईवटा मुद्दा दर्ता

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाका मुद्दा दर्ता भएका छन् ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै  दायर गरेका अवहेलना मुद्दा दर्ता भएकाे सर्बाेच्च अदालतले जनाएकाे छ ।
आचार्यले गत आइतबार र न्यौपानेले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेपनि सर्वोच्च प्रशासनले मंगलबार मात्र
दर्ता गरेको हाे ।

मुद्दामा प्रधानमन्त्री ओलीले  गत माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केट थापाथलीमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा ‘निन्दायुक्त टिप्पणी’ गरेको जिकिर गरिएकाे छ । कार्यक्रममा प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भनेका थिए ।
प्रधानमन्त्री ओलीकाे याे भनाइप्रति चाैतर्फि बिराेध भइरहेकाे छ । यसबारे नेपाल बार एशाेसिएसनका चारजना अध्यक्षले विज्ञप्ति निकालेर बिराेध जनाएका छन् । 

वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर अदालतको अवहेलना गरेकाले  प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।

यस्तै, अधिवक्ता न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको जिकिर गरेका छन् ।

प्रतिक्रिया