प्रचण्ड-नेपाल समूहले भन्यो- संघर्षको आवश्यकता झन् बढ्यो

काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूहले बालुवाटारमा नागरिक आन्दोलनले गरेको मार्चपासको क्रममा भएको प्रहरी दमनको विरोध गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक अगुवालाई धरपकड गरिएकोप्रति सो समूहले विरोध गरेको हो । ‘शान्तिपूर्ण कार्यक्रममा सरकारले निर्मम लाठी चार्ज गरी क्रुर दमन गरेकोमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोर भर्त्सना गर्दछ,’ आन्दोलनका लागि गठित केन्द्रीय संघर्ष समितिका संयोजकसमेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

विधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा उत्रँदा गरिएको दमनले सरकारको अलोकतान्त्रिक एवम् निरङ्कुश चरित्र उदाङ्गो भएको सो समूहको ठहर छ । अगाडि लेखिएको छ, ‘लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको छ । नागरिक समाजका तिनै अगुवाहरूले सोमबार संविधान र लोकतन्त्रको रक्षाको निम्ति संघर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक एवं निरंकुश चरित्र उदांगो भएको छ ।’

यसबाट संघर्षको आवश्यकता र औचित्य थप बढेर गएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रहरी दमनबाट घाइते भएका आन्दोलनकारीहरूको स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

प्रतिक्रिया