भारत र चीनका सैनिकबीच सिक्किम क्षेत्रमा झडप, २४ सैनिक घाइते

काठमाडाैं । भारतीय सेना र चीनियाँ सेनाबीच फेरि झडप भएकाे छ । सिक्किमकाे नाकुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप भएकाे हाे ।

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘उत्तर सिक्किमकाे नाकुला क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच जनवरी २० मा झडप भएकाे थियाे । अहिले स्थिति सामान्य छ ।’ चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको भारतीय पक्षकाे दाबी छ ।

२० जनवरीमा घटेकाे घटनाकाे जानकारी सेनाले साेमबार दिएकाे हाे । समाचार एजेन्सी एपीएफले झडपमा दुवै पक्षका सैनिकहरू घाइते भएकाे उल्लेख गरेकाे छ । यद्यपी सेनाले भने यसबारेमा जानकारी दिएकाे छैन । चिनियाँ सैनिकहरूले उत्तर सिक्किमकाे नकुला सीमा पार गर्ने क्रममा झडप भएकाे बुझिएकाे छ ।

प्राप्त जानकारी अनुसार झडपमा २० चिनियाँ सैनिक र चार भारतीय सैनिक घाइते भएका छन् ।

लद्दाख नजिक विगत कयाैँ महिनादेखि जारी सीमा विवाद सुल्झाउन गएकाे आइतबार माल्दाे इलाकामा कमान्डर स्तरकाे ९औँ चरणको छलफल सकिएको छ । तर त्यहाँ झडप राेकिएकाे छैन, पटकपटक भइरहेकाे छ । यसअघिकाे झडपमा २० भारतीय सैनिक मारिएका थिए ।

प्रतिक्रिया