चलचित्र ‘सत्यम’ मा कलाकार खोजी

काठमाडौं । अभिनेता राजेश हमालको अभिनय रहने चलचित्र ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक भएको छ । ‘सत्यम्’को थिमेट्रिकल स्केच पोष्टर सार्वजनिक गर्दै कलाकारको खोजी पनि गरिएको छ । पोष्टरमा हमालको स्केच फोटो समावेश गरिएको छ ।

चलचित्रमा अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय रहनेछ । निर्देशक शंकर कार्कीले अनुपको चरित्रको लुक्ससहित छिट्टै पोस्टर सार्वजनिक गरिने बताए । फिल्मका निर्माता रेशम सापकोटाका अनुसार फिल्ममा पल शाह र उपासना सिंह ठकुरीको पनि अभिनय रहनेछ । टुडी प्रविधिमा निर्माण हुने फिल्ममा अभिनय गर्न अभिनेता हमाल आठ महिनापछि सहमत भएका थिए । यसअघि फिल्म ‘सौर्य’मा राजेश र अनुप एकसाथ देखिएका थिए ।

फिल्मका लागि चार मुख्य चरित्र अभिनेता, दुई मुख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, दुई सहायक कलाकार पुरुष र दुई सहायक महिला कलाकार, दुई जना बाल कलाकार र छोटो भूमिकाका लागि ५ जना कलाकारको अडिसन हुने बताइएको छ । रेशम सापकोटाको लेखन तथा लगानी रहने चलचित्रमा सह–निर्माताको रुपमा श्याम मल्ल र गणेश पौडेल छन् ।

प्रतिक्रिया