‘नराेउ मयालु’ भन्दै सबैलाई रुवाएर गए धनबहादुर

  • दिक्षा कट्टेल

काठमाडौं । धनबहादुर गायकको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको छ । उच्च रक्तचापका कारण ढलेपछि अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा उनको निधन भएको हो । गायनसँगै उनी नृत्य निर्देशक, सङ्गीतकार र सङ्गीत प्रशिक्षक पनि थिए । धनबहादुरले पोखराका विभिन्न विद्यालयमा दशौँ वर्षसम्म सङ्गीत पढाएका थिए ।२०१९ साल वैशाख ६ गते पोखराको बाटुले चौरमा जन्मिएका धनबहादुरका श्रीमती एक छोरी र दुई छोरा छन् ।

गाउँदा गाउँदै छुट्यो पढाई
धनबहादुरलाई पढाईभन्दा पनि गायनमा रुचि थियो । स्कुल जाने उमेरमा पोखराको बैदाममा आउने पर्यटकलाई गीत सुनाउँदा, सारङ्गी बजाउँदा पैसा पाउने थाहा पाए उनले । साथीको लहलहैमा लागेर गएका उनी केही दिनमा नै सारङ्गी बजाउन समेत पोख्त बने । यो २०२७/२८ सालतिरको कुरा हाे । स्कुल गए पढ्नुपर्ने, गाउन जाँदा पैसा समेत पाइने भएकोले उनको मन त्यतैतिर लाग्यो । पर्यटकले खुवाउने पाउरोटी र तरकारीको लोभ पनि सानो उमेरमा छुट्टै थियो । घरमा पढेको बहाना गर्न भने उनले छोडेका थिएनन् । जसको लागि उनले लेखे झैँ गर्ने, पुस्तक पल्टाएर छोड्ने गर्ने गरेकाे उनी बताउँथे ।
भागेर काठमाडौं पुगे 
बैदाममा गाउँदा गाउँदै ख्याति कमाएका धनबहादुरलाई र उनका साथीसहित काठमाडाैँ जान बसका स्टाफहरुले प्रस्ताव गरे । त्यसबेला नेपाल अर्थात अहिलेकाे काठमाडाैँ पुग्ने रहर सबैलाई हुन्थ्याे । उनी भागरे काठमाडाैँ पुगे । बस चढेर ‘नेपाल’ आएका उनी रेडियो नेपाल पुगे । उनका गीत सुनेर त धेरैले ‘सानो झलकमान’ भन्न थाले । सारँगी र गायनबाट विख्यात बनेका झलकमानसँग नाम जाेडिएकाेमा उनी दँग परे । गायनलाई अझ निखार्दै लगे ।
बाल कलाकारका रुपमा अभिनय
धनबहादुरले राष्ट्रिय नाचघर जमलमा बाल कलाकारको रूपमा लामाे समय काम गरे । उनले सिन्दूर, कान्छी, सन्तान, के घर के डेरा, फेरी भेटौँला, अग्निकुण्ड लगायत चलचित्रमा अभिनय र नृत्य गरेका छन् । नाटक र चलचित्रमा बाल कलाकार बनेर अभिनय गर्दै गर्दा उनमा गायन र वाद्यवादनको रहर भने रहि नै रह्यो ।
सारङ्गी पाठशालाको स्थापना र सञ्चालन
अलि मियाको संरक्षकत्वमा पाेखरामा ‘झलकमान सारङ्गी पाठशाला’ खोलेका उनले त्यहि  मार्फत निशुल्क लोक भाका, मादल र सारङ्गीको ज्ञान दिँदै आएका थिए । गन्धर्व जातीको पहिचान जोडिएको सारङ्गी उनले अन्य जुनसुकै जातका विद्यार्थी आउँदा पनि निःशुल्क नै  सिकाउने गर्थे । उनको पहल जहिल्यै पनि सारङ्गी तथा लोक भाकाको संरक्षण तथा संवर्धनमा रहने गरेकाे पाेखराका श्रष्टाहरु बताउँछन् । उनी राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे गण्डकी प्रदेशकाे सँस्थापक सदस्य समेत रहेका थिए । यसका साथै उनले पाेखराका धेरै विद्यालयमा सङ्गीत प्रशिक्षकका रुपमा पनि काम गरे । जसबाट हजाराैँ विद्यार्थीलाई उनले सङ्गीत सिकाए ।
लोक सङ्गीतमा अपूरणीय क्षति
धनबहादुरले धेरै गीत गाए । त्यसमध्ये सबैभन्दा चर्चित बन्याे नराेउ मायालु । याे नानीकाे मिरमिरे आँखा अर्थात नराेउ मायालु नसुन्ने र मन नपराउने काे थियाे हाेला र ? शब्दमा मायालु भएपनि धनबहादुरले याे गीतमा ठेट शैलीमा ‘मयालु’ भनेका छन् । यस्तै बेली र चमेली, पानीको कलधारा लगायत धेरै गीत उनका अहिलेपनि उस्तै मीठा र प्यारा लाग्छन् । पोखरा र पोखरा नजिकै हुने मेला महोत्सव तथा साङ्गितिक र सांस्कृतिक कार्यक्रममा उनको सहभागिता अपरिहार्य जस्तै मानिन्थ्यो । विभिन्न सङ्घ संस्थामा रहेर समेत उनले गीत सङ्गीतको क्षेत्रमा योगदान दिँदै आएका थिए ।

उनका दुई भाइ छाेरामध्ये जेठा छाेरा गीत सङ्गीतको क्षेत्रमै छन भने कान्छा छाेरा इन्जिनयर छन् ।

उनको निधनले नेपाली लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। अन्तत: धनबहादुर ‘नराेउ मयालु’ भन्दै सबैलाई रुवाएर हामीबाट बिदा भएका छन् । 

 

प्रतिक्रिया