नयाँ किड्नीको वैशाखी टेकेर हिँडिरहेको छु : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपनि अलिअलि अपांगता भएकै व्यक्ति भएकाे बताएका छन् ।

आज (आइतबार) राष्ट्रिय सभा गृहमा आयाेजित अपाङ्गता भएका व्यक्तिहरुसँगकाे अन्तर्क्रिया कार्यक्रममा प्रम ओलीले यस्ताे बताएका हुन् । ‘म पनि अलिअलि अपांगता भएकै व्यक्ति हुँ । मेरो पनि किड्नी फेल भएर अरुको किड्नी राखेको छु । अरुको किड्नीको ह्विल चियर चढेर हिँडिरहेको मान्छे हुँ,’ कार्यक्रममा उनले भनेका छन्- ‘त्यो किड्नी पनि फेल भयो । त्यसपछि फेरि अर्को किड्नी राखेर नयाँ किड्नीको वैशाखी टेकेर हिँडिरहेको छु । आँखा पनि कमजाेर छ, याे पनि अपांगता नै हाे ।’

किड्नी फेरेर पनि काम गर्न सकिन्छ, बाँच्न सकिन्छ, अगाडी बढ्न सकिन्छ भन्ने आत्मविश्वास लिएर आफू अगाडी बढिरहेकाे उनी बताउँछन् । ‘सायद यो पनि विश्व रेकर्ड नै होला । विश्वमा दुई पटक किड्नी फेरेको कोही प्रधानमन्त्री छैन होला,’ उनी भन्छन्- ‘दुई वटा किड्नी फेरे पनि देश बिगार्न खोज्ने, जनताका लागि अहित गर्न खोज्ने, लोकतन्त्र विरोधी, जनताको शासन मास्न खोज्ने तत्वहरु भागीभागी हिँड्या छन् डरले ।’

कार्यक्रममा प्रम ओलीले अपांगता भएका व्यक्तिहरुको क्षमता अनुसार रोजगारी प्रदान गर्ने एवम् स्वरोजगार बन्न सरकारले सहयोग गर्ने भन्दै अपांगतासम्बन्धी संघ-संस्थाहरुसँग सहकार्य गर्दै आवश्यक परेका ठाउँमा सेवा पुर्याउने प्रतिबद्धता जनाए ।

यस्तै उनले अहिले सडकबालक, सडकमानव मुक्त देश बनाइएकाे पनि दाबी गरे । उनले भनेका छन्- ‘हिजो सडकभरी बालबालिका हुन्थे, जसलाई खाते भन्ने नामले अत्यन्तै अपमान गरिन्थ्यो । आज कुनैपनि नेपालीको छोराछोरीले खाते भन्ने सुन्नु परेको छैन । हामी नेपालीको छोराछोरीलाई खाते हुन दिँदैनौँ । त्यो सरकारको कर्तव्य हो । अहिले सडकमा खाते छैनन् ।’

भेदभाव नगरी सरकारले सडक बालबालिका एवम् सडक मानवलाई संरक्षण गरिने पनि उनले बताए ।

प्रतिक्रिया