एसियाकै ठूलो लागुपदार्थ गिरोहका नाइके युरोपमा पक्राउ

काठमाडौँ । एसियाकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउपुर्जीका आधारमा सो चि लपलाई पक्राउ गरेको हो ।

चीनमा जन्मिएका क्यानडाली नागरिक सोलाई ‘द कम्पनी’का प्रमुख भएको मानिन्छ । उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्छ । संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने सोलाई एम्स्टर्डामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरिएको हो ।

अस्ट्रेलियाले आफ्नो देशमा उनीमाथि मुद्दा चलाउन उनको सुपुर्दगी गराउन खोजिरहेको छ । अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) देशमा भित्रिने कुल लागुऔषधिमध्ये करिब ७० प्रतिशत साम गोर सिन्डिकेट पनि भनेर चिनिने द कम्पनीबाट आउने विश्वास गर्छ । ५६ वर्षीय सोलाई उनको अवैध साम्राज्यको आकारका कारण मेक्सिकोका लागुऔषध कारोबारी ह्वाकिन ‘एल च्यापो’ गुज्मानसँग तुलना गरिएको छ ।

एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका सो शुक्रवार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका थिए । उनको नाम उल्लेख नगरिएको एउटा वक्तव्यमा प्रहरीले ती सन्दिग्धविरुद्ध सन् २०१९ मा एउटा पक्राउपुर्जी जारी भएको जनाएको छ । त्यसमा डच प्रहरीले इन्टरपोलको सूचनामा काम गरिरहेको उल्लेख छ ।

डच प्रहरी प्रवक्ताले भने, ‘उनी पहिलेदेखि नै अधिक खोजी गरिएका व्यक्तिको सूचीमा थिए र हामीले गोप्य सूचना पाएका आधारमा उनलाई पक्राउ गर्‍यौँ ।’ सन् २०१९ मा समाचारसंस्था रोएटर्सले सोबारे एउटा विशेष अनुसन्धान सामग्री प्रकाशित गरेको थियो । त्यसमा उनलाई एशियाका सबैभन्दा बढी खोजी गरिएका व्यक्ति भनेर उल्लेख गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै रोएटर्सले सोको समूहले मेट्याम्फेटमिन विक्रीबाट मात्र सन् २०१८ मा १७ अर्ब डलरभन्दा बढी रकम आम्दानी गरेको अनुमान गरेको थियो । सोको पक्राउका लागि एएफपीको नेतृत्वमा विश्वभरिका करिब २० वटा निकायले सहकार्य गरेको रोएटर्सले जनाएको छ । उनको खोजी र पक्राउ गर्ने अभियानलाई अपरेशन कुङ्गुर भनिएको थियो ।

पछिल्ला वर्षहरूमा उनी मकाउ, हङ्‌कङ र ताइवानमा लुकिरहेको चर्चा चलेको थियो । लागुऔषध ओसारपसारको आरोपमा सन् १९९० ताका अमेरिकामा पक्राउ परेपछि उनले नौ वर्ष जेलमा बिताएका थिए । अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले उनको पक्राउलाई दुई दशकमा देशको प्रहरीले हासिल गरेको एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । –बीबीसीबाट

प्रतिक्रिया