यसरी पनि बन्छ भिडियो : बब्लुको ‘भेटै हुन्न की’

काठमाडौं । पहिला पहिला गीत बन्न शब्द, सङ्गीत र स्वर राम्रो भए पुग्थ्यो । समय फेरिएको छ, अहिले यतिले मात्रै पर्याप्त हुँदैन । भिडियो निर्माण अनिवार्य जस्तै देखिन्छ । चलेको अनुहार, ठुलो सङ्ख्याको कोरसको पछि धेरै सर्जक लागेको देखिन्छ । तर यो भिडभन्दा फरक रहेर सरल रूपमा देवेन्द्र बब्लुले एउटा गीत र भिडियो तयार गरेका छन् ।

बब्लुको शब्द स्वर तथा सङ्गीत रहेको ‘भेटै हुन्न की’ बोलको गीतमा सङ्गीत सम्योजन भने कृष्ण विक ‘भान्जा’ले गरेका छन् । कारीव छ महिना अघि आएको कन्सेप्टमा शब्द तयार गर्न उनलाई छ महिना नै लागेको थियो । ‘गीत राम्रो बनाउन नसके भिडियो मात्रैले त हुँदैन’ भन्छन् बब्लु । भिडियो बनाउने समय उनलाई ‘फ्ल्यास ब्याक’ पनि राख्ने हो कि भन्ने लागेको थियो रे । तर अन्तमा उनले एकै ठाउँमा रहेर छायाङ्कन सक्ने निर्णय गरे । न त कोरसको तामझाम न नृत्य । सामान्य रूपमा सिन्धुलीको नेपालथोक नजिकको एउटा झोलुंगे पुलमा बसेर भिडियो सकियो । अहिलेसम्म कै कम बजेटमा बनेको भिडियो भएको बब्लु बताउँछन् ।

भिडियोमा प्रयोग भएका ‘मया’ ‘क्यारम त नि’ ‘उठाउन्नन’ लगायत शब्दले बब्लुको ठेट शब्दप्रतिको प्रेम दर्साउँछ । चिठीको माथि लेखिएको मिति, फोन नउठेपछि ‘रक्सी’ को तालमा लेखिएको चिठीले ८०/९०को दशकमा जन्मिएका दर्शकलाई छुन्छ ।

गीतमा प्रयोग भएका शब्दले प्रेमिकाको यादमा रक्सी पिएको मान्छेलाई अझ बढी याद आए पछिको पिडा व्यक्त गरिएको छ । चिठ्ठी लेख्ने साथीको मुखमा भएको ‘चुरोट’ भिडियो अगाडी बढ्दै जाँदा आगो सर्दै गएर खरानी बन्छ । उक्त खरानी बिस्तारै झरेको दृश्य , गीत गाउँदा गाउँदै झरेको आँसु, बोतल बाटै घुट्क्याएको रक्सी लगायतको प्रस्तुति वास्तविक लाग्छन् ।

सम्झेर आँसु झारेको देखाउनु छ भने किन धेरै सोच्ने ? भनेर सामान्य भिडियो बनाएको भन्ने बब्लुको यो गीतलाई अन्य गीत झैँ दर्शकले मन पराइरहेका छन् । भिडियो छायाङ्कन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन प्रवीण भट्टको रहेको छ । भिडियो डिजाइन र डाइलग विशाल घिमिरेले लेखेका हुन् भने बब्लुलाई उनले अभिनयमा समेत साथ दिएका छन् ।

प्रतिक्रिया