मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचार

अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले निर्वाचनपछि आफ्नो पार्टीको पुनःबहुमतसहितको सरकार बन्ने उद्घोष गरे।

उनले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन आग्रह गरे। उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पुर्याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट पारे।

प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने चेतावनी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिए ।

अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उनले बताए। विसं २०६२÷०६३ को जनान्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उनले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने बताए ।

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा आइतबार
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको छैटौँ दिन सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा आइतबार लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रीत बहस गरिएको छैटौँ दिन आज दशजना कानून व्यवसायीले बहस गरे।

रिट निवेदक ज्ञानेन्द्रराज आरणतर्फबाट अधिवक्ता वरिष्ठ अधिवक्ता नरहरि आचार्य, शैलेन्द्र दाहाल र अधिवक्ता कोकिलप्रसाद अधिकारी, जनकसिंह साउद, सुचोचना धिताल, राजुप्रसाद चापागाईले बहस गरे। त्यस्तै रिट निवेदक अधिवक्ता शालिकराम सापकोटाकातर्फबाट उमेशप्रसाद साह, गुणराज घिमिरे र ताराप्रसाद तिमिल्सिनाले बहस गर्दै संसद् विघटन गर्ने व्यवस्था संविधानमा नभएको तर्क राखे ।  आजसम्म रिट निवेदकका तर्फबाट ३५ कानून व्यवसायीले बहस गरे । इजलासले समयमा निकै कडाइ गरेको छ । आज वरिष्ठ अधिवक्तालाई आधा घण्टा र अधिवक्तालाई १५ वा १० मिनेटको समय निर्धारण गरिएको थियो ।

गत पुस ११ गतेदेखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाई शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाई गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

सुन आयातमा कोटा हटाउन व्यवसायीको माग
काठमाडौं । सुनचाँदी ब्यवसायीले सुन आयातमा रहेको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग भेट गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको टोलीले शुक्रबार यस्तो माग पूरा गराउन सहयोगका लागि आग्रह गरेको हो ।

महासंघका अध्यक्ष गोल्छासँग सुनचाँदी ब्यवसायी संघका अध्यक्ष माणिकरत्न शाक्यले निर्वाध रुपमा ब्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने, निर्यात प्रवर्द्धन गर्न आवश्यक नीतिगत ब्यवस्था गर्नुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिम केन्द्र सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्रसमेत स्थापना गर्नुपर्ने माग लिएर सरकारसँग जान आग्रह गरेका छन् ।

कोरोना अपडेट : ४८० जना निको हुँदा ७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४८० जना कोरोना भाइरस ९कोभिड १९० संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ९शुक्रबार० कोरोना संक्रमणबाट थप ७ जनाले ज्यान गुमाएका छन् ।

यस्तै आज ३ हजार ५४५ जनाको पीसिआर परीक्षण गरिएकोमा ३०२ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज क्वारेन्टिनमा १५८ जना छन् भने सक्रिय संक्रमित संख्या ३ हजार ६१४ रहेको छ ।

आजको अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । संक्रमितमध्ये २ लाख ६३ हजार ३४८ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९८६ पुगेको छ ।

काठको दाउराले प्रहार गरी आफ्नै आमाको हत्या
तनहुँ । आफ्नै आमाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।

७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

‘ओलीलाई घुँडा टेकाएरै छोड्छौँ’
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छोड्ने चुनौती दिएका छन् ।

शुक्रबार काठमाडौंको रत्नपार्कबाट बृहत् प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले ओलीलाई यस्तो चुनौती दिएका हुन् । ‘केपी ओली पराजित हुनुको विकल्प छैन’, नेता भुसालले भनेका छन्, ‘नहुने काम भयो ।’

ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ्ग मात्र बाँकी रहेको दाबी गर्दै नेता भुसालले भनेका छन्, ‘यो अदालत तपाईँको सेटिङ्गका कारण डराएर तपाईँको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाई गलत हुनुहुन्छ । हामी तपाईँलाई घुँडा टेकाएरै छोड्नेछौँ ।’ यसैबीच नेता भुसालले आजको जनसागरले को सत्य हो भन्ने कुराको पुष्टि भएको बताए ।

प्रचण्ड-नेपाल समूहको प्रदर्शन
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको नेपाल(दाहाल समूहले राजधानीमा बृहत् प्रदर्शन गरेको छ । आज (शुक्रबार) काठमाडौंको शान्तिवाटिका लगायत अन्य ठाउँबाट सुरू भएको प्रदर्शन भृकुटीमण्डप अगाडीको प्रदर्शनी मार्गमा आएर विरोध सभामा परिणत हुनेछ । भृकुटीमण्डपमा विरोधसभाका लागि मञ्च समेत निर्माण गरिएको थियाे ।

प्रदर्शनमा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी थिए। काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र वाल्मीकी कलेजबाट सुरू भएका जुलुसहरुमा विभिन्न शीर्ष नेताहरुको समेत उपस्थिति रहेको छ । नेपाल-दाहाल समूहका अनुसार प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने छ ।

भूमिहीन सुकुम्बासीलाई जग्गा दिन आयोगद्वारा आवेदन माग
भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउ आवेदन माग गरेको छ । साथै अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नसमेत आवेदन माग गरेको छ ।

यसका लागि आयोगले तोकेको ढाँचाअनुसार आफूले आवाद, बसोबास वा कमोत गरेको जग्गा पाऊँ भनी ३५ दिनभित्र आयागबाट खटिने लगक संकलक वा वडा कार्यालयमार्फत विवरण पेश गर्न आग्रह सूचना जारी गरेको छ । त्यस्तो आवेदन दिँदा आफूले आफूले पाउन दाबी गरिएको जग्गा आफैंले भोग चलन गरिआएको प्रमाण खुल्ने विवरण समेत पेश गर्न आयोगको आग्रह गरेको छ ।

नेपालका भूमिहिन दलित, सूकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तथा व्यवस्थापन गर्न सरकारले गठन आदेश २०७६ अनुसार आयोग गठन गरेको हो । आयोगले सातै प्रदेशका समस्या देखिएका तोकिएका स्थानीय तहमा यसका लागि लगत संकलन गर्न संकलकहरु समेत खटाउने भएको छ ।

चन्द्रागिरी हिल्सको सेयर बाँडफाँट
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आइपिओ शुक्रबार बाँडफाँट भएको छ । सेयर बिक्री तथा निष्काशन प्रवन्धक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा शुक्रबार बिहान गोलाप्रथा गरी शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीको आइपिओ खरिदका लागि आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६ सय २ जनाले १०÷१० कित्ता शेयर पाएको क्यापिटलले जनाएको छ । बाँडफाँट गरी बाँकी रहेको २ कित्त शेयर भाग्यमानी दुइ आवेदकलाइ थप १÷१ कित्ता दिइएको छ । कम्पनीको आईपिओ खरिदका लागि आवेदन दिएका १० लाख ७१ हजार ५ सय १३ जना आवेदकको हात भने खाली भएको छ । कम्पनीको शेयरका लागि आवेदन दिएका मध्ये १२ लाख १६ हजार ९ सय ५३ जनाको आवेदन स्वीकृत भएको थियो भने ४० हजार भन्दा बढी आवेदनको आवेदन प्रक्रिया नपुगेका कारण रद्ध भएको थियो ।

कम्पनीले निश्काशन गरेको कुल १५ लाख ३५ हजार ९१ कित्ता सेयर मध्ये ६१ हजार ३ सय ६४ किक्ता आफ्ना कम्पनीका कर्मचारीलाई छुट्टयाएको छ । त्यस्तै, ७६ हजार ७ सय ५ कित्ता सामूहिक लागनी कोषका लागि छुट्टयाएको छ । त्यस्तै, ३ लाख ६ हजार ८ सय १९ कित्ता उक्त कम्पनीको केबलकार आयोजना प्रविभात क्षेत्रका स्थानीयवासीका लागि छुट्टयाएको छ ।

डायनामाइट विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु
भारतको कर्नाटकको शिवामोग्गामा डायनामाइट विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार साढे १० बजेतिर रेलवे क्रसर साइटमा भएको उक्त बिस्फोटको धक्का आसपासका क्षेत्रमा समेत महशुस गरिएको थियो ।

विष्फोटको झड्काले नजिकैको सडकमा चिरा परेको छ भने केही घरका झ्यालका शिशा फुटेका भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । मानिसहरूले भूकम्प आएको हो कि भनेर भूकम्प मापन केन्द्रमा फोन समेत गरेका थिए ।

मृत्यु हुनेमा डायनामाइट ट्रकमा ओसारिरहेका मजदुरहरू छन् । विष्फोटस्थल प्रादेशिक राजधानी बैङ्लुरूदेखि ३५० किलोमिटर टाढा छ । विष्फोट भएको शिवमोगा जिल्ला मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो । के कारणले विस्फोट भयो भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया