कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी, कम्तीमा पाँचको मृत्यु

काठमाडौं । कोभिड १९ विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रस्थित ‘सिरम इन्स्टिच्युड अफ इन्डिया’को कार्यालयमा आगलागी हुँदा कम्तीमा पाँच जनाले मृत्यु भएको छ ।

लाखौँ परिमाणमा खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट अहिलेसम्म पाँच जनाले ज्यान गुमाएका छन् । आगलागीबाट करोडौं मूल्यको औषधि र बिसिजी खोप उत्पादनका लागि राखिएका सामान पनि जलेर नष्ट भएका छन् ।

भारतसहित दक्षिण एसियाका विभिन्न देशमा समेत कोभिसिल्ड कोरोना भ्याक्सिन उपलब्ध गराइरहेको सिरम इन्स्टिच्युट अफ इन्डियाको पुणेस्थित उद्योगमा दिउँसो ३ बजेदेखि आगो लागेको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको हो ।

आगोलाई नियन्त्रणमा लिन १५ वटा दमकलले डेढ घण्टासम्म खटिनु परेको थियो । दमकलले आगो निभाएपछि पुगेको उद्धार टोलीले उक्त ठाउँबाट पाँचवटा शव निकालेको छ । यी सबैजना त्यहाँका मजदुर थिए ।

त्यहाँ साँझ करिब सात बजे पनि फेरि आगलागी भयो । जसलाई निभाउन ठूलै प्रयास गर्नुपर्यो । उद्धार टोलीले त्यहाँबाट ९ जनालाई उद्धार गर्न सफल भएको छ ।

पुणेका मेयर मुरलीधर मोहोलका अनुसार मजदुरको शव उक्त भवनको माथिल्लो तलामा भेटिएको हो । आगो लाग्नुको कारण खुलिसकेको छैन । एजेन्सी

प्रतिक्रिया