१२ वर्षकै उमेरमा सुगर, ३ वर्षपछि गोठबाट उद्धार

सुमन सुस्केरा

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवाकी गीता महतो उमेरले १४ वर्षकी भईन् । आजभन्दा ३ वर्ष पहिलासम्म उनी नियमित विद्यालय जान्थिन् । अनी साथिहरुसँग खेल्थिन्, रमाउँथिन् । अनी उनीसँगै उनका सातथीहरु पनि आउँथे, खेल्थे र रमाउँथे । विगत ३ वर्षदेखि उनको साथीसँगी सबै टाढिएका छन् । घरका आफन्तले छुट्टै बाख्रा गोठमा लगेर राखिदिए । यसरी राखिनुको कारण थियो, ‘उनको शरिरमा बिसन्चो हुनु ।’

खाँदा खाँदै, हिँड्दा हिँड्दै, पढ्दा पढ्दै गरेकी गीता बिरामी परेपछि उनलाई परिवारका सदस्यले नै वेवास्ता गरेको स्थानीय बताउँछन् । १२ वर्षकै उमेरमा सुगर भएपछि उपचारको लागि अस्पताल नलगेको उनका छिमेकी सत्यदेवी यादवले बताईन् ।

‘शुरुमा बिरामी पर्ने वितिकै मरे मरोस् भनेर उपचारका लागि लगेनन्’, सत्यदेबीले भनिन्, ‘बिरामी परेपछि एक्लै राख्दै आए, अहिले त राती राती भोक लाग्यो मात्रै भनेर रुन्छे ।’ उनलाई एक्लै राखेर उपचार त गरेनन् भोकै परेको बेला खानसमेत नदिईएको उनको भनाई छ ।

लामो समयदेखि थलिएकी गीताको बारेमा विराटनगर महानगरपालिकाले बनाएको युवा समूहले ती बालिकाको बारेमा विराटनगर महानगरपालिकालाई जानकारी गराएको थियो । विराटनगर महानगरपालिकाले बालिकाको अवस्थाको बारेमा चासो दिएको थियो ।

महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमको नेतृत्वको टोली उनको उद्दारका लागि बिहिबार दिउँसो १ बजे गीताको घरमा पुग्दा उनी रुँदै थिईन् । मलाई दुख्यो, भोक लाग्यो, भन्दै रुँदै गरेकी गीताको कुरा सुन्ने कोही थिएन । घरमा भएकी उनकी बहिनी साग बेच्न बजार हिड्नै लागेकी थिईन् भने उनकी आमा सत्ती महतो गाउँतिर गएकी थिईन् ।

उनको रुवाई र चिच्याहट सुनिदिने त्यो घरमा उनी बाहेक कोही पनि थिएन । गीताको तीन वर्षदेखिको यस्तै पीडा थियो । यतिका लामो समयसम्म थलिएको हुँदा पनि कसैले आफ्नो उपचारमा ध्यान नदिएको गीताले रुँदै सुनाईन् ।

गीताका अनुसार, शुरुमा ज्वरो आएको थियो । पछि बिरामी बढ्दै जान थाल्यो, रिपोर्टमा सुगर भएको भनिए पनि गाउँकाले सानैमा सुगर हुँदैन भनेपछि नगएको हो । उपचार हुन छाडेपछि हिड्नै नसक्ने गरी थला परेको उनले बताईन् । बिरामी भएपछि मलाई पानी चुहुने गोठमा ल्याएर राखिदिएको गीताले सुनाईन् ।

३ वर्षको बीचमा दिसा पिसाब एकै ठाउँमा भएपछि मात्र सम्बन्धित सरोकारवाला निकायले थाहा पाएका छन् । बिहीवार नै महानगरपालिकाले कोशी अस्पतालमा बालिकाको उपचारको लागि भर्ना गरेको छ । विराटनगर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले बालिकालाई तत्काल उपचारको लागि कोशी अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

कोशी अस्पतालमा हिंसामा परेका महिलालाई उपचार गराउने कोष नै रहेकोले त्यही कोषबाट बालिकाको उपचार हुने उनले बताए । सुगर हुने वित्तिकै शुरुमा उपचार गरेको तर पछि उपचार गर्न नसकेपछि उपचार गर्न छाडेर यो अवस्था आएको गौतमले मकालुखबरलाई बताए ।

प्रतिक्रिया