नेकपा केन्द्रीय संघर्ष समितिको तयारी पुरा, भाेलि काठमाडाैंमा जुलुस

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौँमा गर्ने विरोध सभाको तयारी पुरा भएको जनाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध सभाको तयारी पुरा भएको जानकारी दिए । उनले पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताए ।

त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने उनको भनाइ छ । मुख्य जुलुस पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने नेता भट्टराईले जानकारी दिए । विरोधसभामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए ।

सह–संयोजक भट्टराईले विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने बताए । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए ।

संयोजक श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भुमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गरे ।

प्रतिक्रिया