सात वर्षको अन्तरालपछि निर्देशनमा दीपक श्रेष्ठ

काठमाडौं । सात वर्षपछि दीपक श्रेष्ठ चलचित्र निर्देशनमा फर्किने भएका छन् । ‘घिन्ताङ’नामकरण गरिएको चलचित्र छिट्टै नै छायाङ्कनमा जाने तयारी रहेको छ । वाचा, रङ वे, वीर लगायत फिल्म निर्देशन गरेका श्रेष्ठले भर्खरै अभिनयमा पाइला टेकेकी नायिकालाई लिएर चलचित्र बनाउँदै छन् ।

अनुराग डेब्यु नायिका एलिजा गौतमलाई लिएर उनले सहमति पत्रमा हस्ताक्षर समेत गराइसकेका छन् । गौतमको पहिलो चलचित्र सफल हुन नसके पनि पछिल्लो समय म्युजिक भिडियोमा मन पराइएकी मोडलको रूपमा परिचित छन् ।

चलचित्रको मुख्य पुरुष पात्रको भूमिकामा भने गौरव पहारी हुने भएका छन् । विपिन कार्कीसँग सहकार्य गर्ने श्रेष्ठको प्रयास कार्कीको व्यस्तका कारण सफल हुन नसकेपछि उनको रोजाइमा पहारी परेका हुन् ।

कोरोना भाइरसका कारण ठप्प फिल्म क्षेत्रमा नयाँ निर्माता, निर्देशक आउन डराएको अवस्थामा एकपछि अर्को गर्दै पुराना चलचित्रकर्मी फर्किन थालेका छन् । अनुभवी व्यक्तिहरूको आगमन सँगै चलचित्र क्षेत्र केही मजबुत हुने चलचित्रकर्मी तथा समीक्षकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया